काठमाडौं । मोरङको उर्लाबारी नगरपालिका–७ स्थित सुन पसलमा आगलागी हुँदा २८ जना घाइते भएका छन् । जसमा प्रहरीसहित स्थानीय छन् । दीपक कार्कीको घरमा सञ्चालित सुन पसलमा आइतवार राति आगलागी भएको मोरङका प्रहरी डीएसपी रञ्जन दाहालले बताए ।
घाइते हुनेमा चारजना प्रहरीसहित २८ जना रहेका छन् । जसमध्ये प्रहरी सहायक नीरिक्षकसहित चार प्रहरी कर्मचारी सहित घाइते २८ जनाकै उपचार भइरहेको छ । घाइतेमध्ये १२ जनाको झापाको विर्तामोडस्थित बीएन्डसी मेडिकल कलेज र बाँकीको विराट नर्सिङहोमलगायत मोरङका तीनवटा अस्पतालमा उपचार भइरहेको छ ।
पटाकाबाट आगलागीहुँदा ५० लाखको क्षति
गए राति सुनसरी सदरमुकाम इनरुवा–१ स्थित मुख्य बजारमा आगलागी भएको छ । सुनसरी प्रहरीका अनुसार, इनरुवा–१ स्थित वृद्धिचन जैनले सञ्चालन गरेको किराना पसलमा आगलागी भएको हो । लक्ष्मी पूजाका दिन स्थानीयले मनोरञ्जनका लागि पड्काएको पड्का जैनको घर पछाडि रहेको रुखको बोट नजिक खस्दा आगलागी भएको प्रत्यक्षदर्शीले जनाएका छन् ।
आगलागीबाट एउटा काठको घर र घरभित्र सञ्चालनमा रहेको किराना पसल पूर्णरुपमा जलेर नष्ट हुँदा करिब ५० लाखभन्दा बढीको क्षति भएको बताइएको छ । इनरुवा, दुहबी, धरान, कोसी, इटहरी, देवानगञ्ज, रामधुनीलगायतका स्थानबाट आएका बारुणयन्त्र सहित स्थानीयवासी, नेपाल प्रहरी, सशस्त्र प्रहरी, इनरुवा नगर प्रहरीलगायतका सहयोगमा आगलागी नियन्त्रणमा लिइएको थियो । घटनाको विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
दियोबाट आगालागी हुँदा छब्बिस लाखभन्दा बढीको क्षति
लक्ष्मी पूजाको लागि बालिएको दियोबाट आगोलागी हुँदा भोजपुरमा २६ लाखभन्दा बढीको क्षति भएको छ । जिल्ला प्रहरी कार्यालय भोजपुरका सूचना अधिकारी प्रहरी निरीक्षक दलबहादुर राईले भोजपुर नगरपालिका–८ पोखरे बरबोट स्थित ज्ञानराज विष्टको घरमा लक्ष्मी पूजा गर्न बालिएको दियोबाट आगलागी हुँदा २६ लाख ५८ हजार बराबरको क्षति भएको जानकारी दिए ।
आगोलागीबाट दुई तले घर जलेको छ भने घरभित्र रहेका लत्ताकपडा, अन्नपात भाडावर्तन,सुनका गरगहना, र नगद १५ हजारसमेत नष्ट भएको छ। जिल्ला प्रहरी कार्यालय, नेपाली सेना, स्थानीयवासी र बारुणयन्त्रको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो । दियोबाट आगो सल्किँदा सङ्खुवासभा सदरमुकाम खाँदबारी नगरपालिका–१ हिमावी टोलमा आगलागी हुँदा एक घर जलेर नष्ट भएको छ ।
गए राति लक्ष्मी पूजा गरेको दियोबाट आगो सल्केर खाँदबारी–१ स्थित लिला राईको घर जलेर नष्ट भएको हो । जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका अनुसार आगलागीबाट राईको घर पूर्णरुपमा नष्ट भए पनि मानवीय क्षति भएको छैन । आगलागीबाट राईको घरमा राखेका लत्ताकपडा र खाद्यान्न जलेको छ। आगो नेपाली सेना, नेपाल प्रहरी र स्थानीयले एक घण्टापछि नियन्त्रण लिएको बताइएको छ ।



