काठमाडौं । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय ९कक्षा १२० ले कक्षा १२ को ग्रेडवृद्धि (पूरक) परीक्षाको नतिजा सार्वजनिक गरेको छ । नतिजा अनुसार कुल परीक्षार्थीको ७५.४५ प्रतिशतले मात्र ग्रेडवृद्धि प्राप्त गर्न सकेका छन् ।
राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय सानोठिमी, भक्तपुरद्वारा गत असोज ९ र १० गते सञ्चालन भएको कक्षा १२ को ग्रेडवृद्धि (पुरक) परीक्षाको नतिजा प्रकाशित गरिएको जनाएको छ ।
परीक्षामा कुल १ लाख १७ हजार ८ सय ८२ विद्यार्थीले परीक्षा दिएकोमा जसमा ८८ हजार ९ सय ४७ अर्थात ७५ दशमलव ४५ प्रतिशत विद्यार्थीले ग्रेड प्राप्त गरेको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । १५ जना विद्यार्थीको परीक्षा रद्द गरिएको बोर्डको भनाइ छ ।
ग्रेडवृद्धि परीक्षामा कम्तिमा डी ग्रेड प्राप्त गरेका परीक्षार्थीहरुले ७ मंसिर पश्चात ट्रान्सक्रिप्ट, माइग्रेसन, प्रोभिजनल र ग्रेडवृद्धि (टीएमपीजी) प्रमाणपत्रका लागि रसिद काट्न सक्ने जनाएको छ ।
शैक्षिक प्रमाणपत्र प्राप्त गर्नको लागि कक्षा ११ र १२ मा तोकिएको न्यूनतम ग्रेड प्राप्त गरेको ग्रेडसिट लेजरको प्रमाणित प्रति अनिवार्य रुपमा संलग्न हुनुपर्ने छ । नतिजमा चित्त नबुझेको परीक्षार्थीले १५ दिनभित्र ८ मंसिरभित्र सम्बन्धित कार्यालयमा आवेदन दिन सक्नेछन् ।



