काठमाडौं । रेशम चौधरीको कैद माफी मिनाहा गर्ने निर्णयविरुद्ध परेको रिटनिवेदनको सुनुवाइ स्थगित भएको छ । निवेदन सुनुवाइका लागि विहीबार पालो तोकिएकोमा सर्वोच्च अदालत प्रशासनबाटै सुनुवाइ स्थगित भएको हो ।
टीकापुर घटनामा दोषी ठहर भई डिल्लीबजार कारागारमा रहेका चौधरी राष्ट्रपतिबाट कैद मिनाहा भई गत जेठ १५ गते थुनामुक्त भएका थिए। २०७२ भदौमा टीकापुरमा २ वर्षीय बालक र एसएसपीसहित ७ जना प्रहरी मारिएको घटनामा सर्वोच्च अदालतले २०७५ फागुनमा चौधरीलाई मुख्य योजनाकार ठहर गर्दै सर्वश्वसहित जन्मकैद फैसला सुनाएको थियो।
गणतन्त्र दिवसका अवसरमा सरकारको सिफारिसमा राष्ट्रपतिले कैदमिनाहा गरेपछि चौधरी गत जेठ १५ गते डिल्लीबजार कारागारबाट रिहा भएका थिए।
टीकापुर घटनामा मृत्यु भएका तत्कालीन एसएसपी लक्ष्मण न्यौपानेको परिवारले रेशम चौधरीको कैद मिनाहाविरूद्ध सर्वोच्चमा रिट दिएका थिए। जेठ २३ गते न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासले सरकारका नाममा कारण देखाऊ आदेश जारी गर्दै उक्त मुद्दामा अदालतले अग्राधिकार दिएको थियो।
त्यसपछि बिहीबार अथात् आजका लागि तोकिएको त्यही निवेदनको सुनुवाई स्थगित भएको हो ।



