images
images

सिर्सिया नदी प्रदुषित गर्ने उद्योगलाई वीरगञ्ज महानगरले तिरायो जरिवाना


  • 242
    SHARES
  • २०८० कार्तिक २२ गते बुधबार

    सिर्सिया नदी प्रदुषित गर्ने उद्योगलाई वीरगञ्ज महानगरले तिरायो जरिवाना

    वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाले सिर्सिया नदी प्रदुषण गर्ने एक उद्योगलाई ३० हजार रुपैयाँ जरिवाना गरेको छ । 

    प्रदुषित पानी सिर्सिया नदीमा फालेर फोहरसमेत गरेको भन्दै परवानीपुरस्थित सिद्धि टेक्साइल प्रालिलाई सो जरिवाना गरिएको महानगरपालिकाको सरसफाइ शाखा प्रमुख सर्फुदिन मियाँले जानकारी दिए । 

    यसअघि सिर्सिया नदी प्रदुषणमा मुख्य जिम्मेवार देखिएको भन्दै महानगरपालिकाले पाँच उद्योगलाई पटक पटक चेतावनी दिँदा पनि प्रदुषण गर्न नछाडेकाले  रु।तीन÷तीन लाखका दरले  जरिबाना गरेको थियो । 

    उद्योगबाट निस्कने रसायनसहितको लेदो तथा फोहोर पानी सोझै नदीमा मिसाउँदा नदी दुर्गन्धित र प्रदुषित भएको थियोे । महानगरको निरन्तर अनुगमनपछि ग्लोबल लेदर, मारुती पल्स एण्ड पेपर, दुर्गा पल्स एण्ड पेपर र सिद्धी टेक्सटायल्सले भने अझै अटेर गरेको भेटिएको महानगरद्वारा गठित सिर्सिया नदी प्रदुषण नियन्त्रण समितिले जनाएको छ ।

    यसैबीच पर्सा–बारा करिडोरका दुई उद्योगले ट्रिटमेन्ट प्लान्ट बनाउन सुरु गरेका छन् । महानगरपालिकाले  निरन्तर अनुगमन र कारबाही गर्न थालेपछि प्रदुषण नियन्त्रणका लागि निस्कने रसायनयुक्त लेदो तथा फोहोर व्यवस्थापन गर्न उद्योगीहरुले ट्रिटमेन्ट प्लान्ट बनाउन सुरु गरेका हुन् ।

    सिर्सिया नदी प्रदुषणमुक्त बनाउन नदीको आसपासका उद्योगहरु नै मुख्य जिम्मेवार देखिएकाले तत्काल फोहोर पानी सोझै नदीमा मिसाउन बन्द नगरे कारबाहीसँगै उद्योगमा शीलबन्दी गरिने महानगरप्रमुख राजेशमान सिंहले चेतावनी दिएपछि उद्योगीहरु ट्रिटमेन्ट प्लान्ट बनाउन तयार भएका हुन् । 

    अहिले मरियम लेदर उद्योग र अरनिको टेक्सटायल्सले अत्याधुनिक ट्रिटमेन्ट प्लान्ट बनाउने काम अघि बढाइसकेको महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद पौडेलले जानकारी दिए । 


    images
    images

    Logo