images
images

कृषि गणना २०७८ : कृषिबाटै खान नपुग्ने परिवार ५६ प्रतिशत


  • 306
    SHARES
  • २०८० कार्तिक २२ गते बुधबार

    कृषि गणना २०७८ : कृषिबाटै खान नपुग्ने परिवार ५६ प्रतिशत

    मनहरी ।  बागमति प्रदेशमा ५५ दशमलव ९ प्रतिशत परिवारलाई कृषिको आम्दानीले खानसमेत नपुग्ने गरेको पाइएको छ । राष्ट्रिय तथ्याङ्क कार्यालयले जारी गरेको कृषि गणना २०७८ को प्रतिवेदनअनुसार यस प्रदेशमा ५५.९ प्रतिशतलाई कृषिको आम्दानीले खानसमेत नपुग्ने देखिएको हो । कृषि पेसा गर्ने र त्यसको आम्दानीले खान पुग्ने परिवार भने प्रदेशमा ४४.१ प्रतिशतमात्र छन् । नेपालमा भने कृषिमै आश्रित भएर पनि यसको आम्दानीले खान नपुग्ने ५५ प्रतिशत रहेको राष्ट्रिय तथ्याङ्क कार्यालयका निर्देशक बद्रीकुमार कार्कीले बताए । 

    बागमतीमा ७२.६ प्रतिशत परिवारको आम्दानीको मुख्य स्रोत कृषि रहेको छ । सार्वजनिक गरिएको तथ्याङ्कअनुसार पुराना प्रविधि हराउँदै गएको छ । फलामे हलोको प्रयोग घटेको छ भने ट्याक्टर र पावररट्रिलर प्रयोग गर्नेको सङ्ख्यामा बृद्धि भएको छ । १४.८ प्रतिशत फलामे हलो, ३०.८ प्रतिशत ट्याक्टर र १६.७ प्रतिशत पावरट्रिलर प्रयोगकर्ता रहेको निर्देशक कार्कीले बताए । 

     तीन दशकमा नेपालमा कृषक परिवार संख्या र कृषकले भोगचलन गरेको जग्गामा बृद्धि भए पनि सरदर दुई पटक मात्र बाली लगाएको देखिन्छ । यस प्रदेशमा १५ लाख ७० हजारभन्दा बढी  घरपरिवार रहेकामा ६ लाख ६८ हजार १ सय ७७ कृषक परिवार रहेको र २ लाख ८२ हजार २९२ हेक्टर जमिन कृषिमा  प्रयोग भएको उहाँले जानकारी दिए ।

    नेपालमा सरदर एक दशमलव ९१ प्रतिशत बाली सघनता रहे पनि प्रदेशमा भने दुई प्रतिशत अर्थात् दुई पटकसम्म बाली लगाएको पाइएको निर्देशक कार्कीले जानकारी दिए । उनका अनुसार प्रदेशमा बगैँचाको रुपमा आँप ५३२ हेक्टरमा, केरा एक हजार १२० हेक्टरमा, सुन्तला ६८८ हेक्टरमा, कागती ४६० हेक्टरमा, स्याउ ८० हेक्टरमा लगाइएको छ । 

    त्यस्तै प्रदेशमा गाई भैसी पालन घट्दो छ । २०६८ को गणनादेखि नै  यसको क्रम घट्दो देखिन्छ ।  गाईगोरु र राँगाभैसीभन्दा खसीबाख्रा, सुङ्गुर र बङ्गुर पाल्नेको सङ्ख्या भने धेरै बृद्धि भएको प्रतिवेदनमा उल्लेख छ । प्रदेशमा उत्पादन गरिएकोे वस्तु सबै घरायसी उपभोग गर्ने ६६ दशमलव चार प्रतिशत कृषक छन् भने केही वस्तु बिक्री गर्ने २५ प्रतिशत, केही घरायसीका लागि राखी सबै बिक्री गर्ने सात दशमलव चार प्रतिशत र सबै वस्तु बिक्री गर्ने शुन्य दशमलव नौ प्रतिशत रहेका छन् । 

     युवाहरु विदेशिने भएका कारण पनि नेपालमा पछिल्लो समय कृषिमा महिलाको सङख्या बढ्दोे छ । विगत तीन दशकदेखीको नतिजा हेर्दा अहिले महिला कृषकको सङख्या बृद्धिभएको निर्देशक कार्कीले बताए । नेपालमा ३२ दशमलव ४ प्रतिशत महिला कृषक छन् भने बागमती प्रदेशमा मुख्य कृषकको रुपमा महिला ३७ दशमलव २ प्रतिशत र पुरुष ६५ दशमलव ८ प्रतिशत रहेका छन् । २०५८ सालको गणनामा महिला ८.१ प्रतिशत र पुरुष ९१.९  प्रतिशत कृषक थिए ।  

    किसानको मुख्य चिन्ता भने समयमै मल, बीउ उपलब्ध नहुनुुमा छ । कृषिगणनामा सहभागीमध्ये ५७ प्रतिशतले समयमै मल, बीउ उपलब्ध भए उत्पादन बढाउन सकिने  बताए । त्यस्तै ४८ प्रतिशतले सिँचाईको व्यवस्था, २७ प्रतिशतले कृषि कार्यका लागि तालिमको व्यवस्था, २७ प्रतिशतले कृषि प्राविधिक सेवा सहज, २२ प्रतिशतले कृषि औजार एवं आधुनिक साधन, १८ प्रतिशतले उन्नत नश्ल सुधार र उन्नत वीउबीजन, १२ प्रतिशतले कृषि उत्पादनको उचित बजार व्यवस्था र ११ प्रतिशत कृषकले शुुन्य ब्याजदर वा सस्तोमा ऋण उपलब्ध गराउन सुझाव दिएको प्रतिवेदनमा उल्लेख छ । 


    images
    images

    Logo