काठमाडौं । जाजरकोटमा गत शुक्रबार गएको भूकम्पको क्षति विवरण सार्वजनिक भएको छ । जसअनुसार करिब १ लाख ७९ हजार नागरिक प्रभावित भएका छन् ।
जिल्लामा कुल ३४ हजार ५ सय १ घरधुरीका १ लाख ७९ हजार ८ सय ९३ नागरिक भूकम्पबाट प्रभावित भएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ ।
जिल्लामा ९ हजार १ सय ८६ घरधुरीका ६७ हजार १ सय ७४ जनसंख्या विस्थापित बनेको छ । प्रशासनको तथ्यांकअनुसार जिल्लाका ७ स्थानीय तहका ९ हजार ९ सय ७४ घर पूर्णरुपमा भत्किएका छन् भने २४ हजार ७ सय ७ घरमा आंशिक क्षति पुगेको छ ।
जाजरकोटमा मात्रै भूकम्पबाट १ सय १ जनाको मृत्यु भएको छ। भौतिक क्षतिको प्रारम्भिक द्रुत सर्वेक्षण प्रतिवेदनका आधारमा यो तथ्यांक सार्वजनिक गरिएको प्रशासनको भनाइ छ ।
