images
images

चेम्बर अफ कमर्सद्वारा कोसोभोसंग व्यापारिक साझेदारीको प्रस्ताव


  • 323
    SHARES
  • २०८० कार्तिक २१ गते मंगलबार

    चेम्बर अफ कमर्सद्वारा कोसोभोसंग व्यापारिक साझेदारीको प्रस्ताव

    काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले कोसोभो देशसंग व्यापारिक साझेदारीको प्रस्ताव गरेको छ । बंगलादेशका लागि कोसोभोका राजदूत गुनेर उरेयासंग जमलस्थित चेम्बर भवनमा मंगलबार भएको भेटबार्तामा चेम्बरका अध्यक्ष राजेन्द्र मल्लले व्यापार एवं लगानीका लागि प्रस्ताव गरेका हुन् । कोसोभोमा नेपालको कुटनीतिक सम्वन्ध स्थापना नभएपनि व्यापार र लगानीको सम्भावना भएका क्षेत्रमा सहकार्यका लागि राजदूत उरेयासंग अध्यक्ष मल्लले आग्रह गरे  । 

    अध्यक्ष मल्लले भने, ‘दुवै देशको चेम्बर अफ कमर्सबीच सहकार्य गरेर व्यापार एवं संयुक्त लगानीको सम्भावना भएका क्षेत्रमा सहकार्यका लागि  प्रस्ताव गर्दछु, ।’

    नेपालको जलविद्युत, पर्यटन एवं सूचना प्रविधिको क्षेत्रका लगानी गर्न अध्यक्ष मल्लले राजदूत उरेयासंग आग्रह गरे । नेपालमा लगानीको प्रतिफल सुनिश्चित गर्नका लागि चेम्बरले पहल गर्ने अध्यक्ष मल्लको भनाई छ ।

    दुई मुलुकबीच व्यापार सहजीकरण एवं लगानीका साथै सांस्कृतिक आदान प्रदान गरेर पर्यटन गतिविधी बढाउन समेत उनले आग्रह गरे । राजदूतसंगको भेटका क्रममा अध्यक्ष मल्लले संयुक्त राष्ट्रसंघ मार्फत कोसोभोको शान्ति स्थापनाका लागि नेपाली सेनाले खेलेको भूमिकाको स्मरण गरेका थिए ।

    चेम्बर पदाधिकारीसंगको भेटवार्ताका क्रममा राजदूत उरेयाले हिमालयको देश नेपालबाट आफु निकै प्रभावित भएको बताए । उनले दुई मुलुकबीच व्यापार सहजीकरणका लागि पहल गर्ने बताए ।

    उनले भने, ‘नेपाल भ्रमण गर्दा यहाँका नागरिकहरु निकै खुसी भएको देख्न पाएँ । लगानीका लागि पनि नेपाल उत्कृष्ट गन्तव्य हो भन्ने ठानेको छु । व्यापार तथा लगानीका क्षेत्रमा सहकार्य गर्न पहल गर्नेछु, ।’

    नेपालको सूचना प्रविधी एवं पर्यटनको क्षेत्रमा लगानीका लागि आफ्नो देशका निजी क्षेत्रसंग पहल गर्ने उनले बताए ।


    images
    images

    Logo