images
images

अनुचित व्यापारिक क्रियाकलाप गर्नेलाई कारवाही गर्दा ९ लाख ६० हजार जरिवाना संकलन


  • 273
    SHARES
  • २०८० कार्तिक २१ गते मंगलबार

    अनुचित व्यापारिक क्रियाकलाप गर्नेलाई कारवाही गर्दा ९ लाख ६० हजार जरिवाना संकलन

    काठमाडौँ । काठमाडाैं महानगरपालिकाले अनुचित व्यापारिक क्रियाकलाप गर्नेलाई कारवाही गर्दा ९ लाख ६० हजार जरिवाना संकलन गरेकाे छ । महानगरपालिकाले ४ महिनामा ७ बटा कम्पनी तथा फर्मलाई अनुचित व्यापारिक क्रियाकलाप गरेका कारण तिराइएको जरिवानाबाट ९ लाख ६० हजार रुपैयाँ राजस्व संकलन गरेकाे हाे । 

    ‘बजारमा अनुचित क्रियाकलाप गर्ने, मूल्य, गुणस्तर, नाप तौलमा उपभोक्तालाई ठगी गर्ने तथा कृतिम अभाव सिर्जना गर्ने व्यापारीलाई जरिवाना गर्नुपर्छ । तर यसरी गरिने जरिवाना उद्योग ठूलो छ कि सानो छ का आधारमा होइन । कसुरका आधारमा तोक्नु पर्छ । बजार अनुगमनमा जाँदा यस विषयमा ध्यान दिनुहोला ।’ 

    काठमाडौँ महानगरपालिकाकी उपप्रमुख एवं बजार व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण समितिकी संयोजक सुनिता डंगोलले, अनुगमन टोलीलाई निर्देशन दिएका छन् । सोमबार उनकै कार्यकक्षमा बसेको समितिको बैठकमा उनले, स्वच्छ र प्रतिस्पर्धी बजार व्यवस्थापनका लागि उपभोक्ता र व्यापार दुवैको लाभ हुने गरी बजार व्यवस्थापनको काम गर्नु पर्ने बताएका हुन् । 

    बैठकमा सम्पन्न कामका विषयमा जानकारी गराउँदै कृषि तथा पशुपंक्षी विभागका प्रमुख एवं खाद्य निरीक्षक डा. अवधेश झाले, ४ महिनामा ७ बटा कम्पनी तथा फर्मलाई अनुचित व्यापारिक क्रियाकलाप गरेका कारण तिराइएको जरिवानाबाट ९ लाख ६० हजार रुपैयाँ राजस्व संकलन भएको बताएपछि उपप्रमुख डंगोलले यस्तो बताइन् । डा. झाका अनुसार त्रिकोण वेभरेज इन्डष्ट्री (बालाजु) लाई शिलबन्दी पानीमा कीरा र लेउ भेटिएपछि १ लाख रुपैयाँ जरिवाना गरिएको थियो । 

    यसैगरी कालिञ्चोक ट्रेडिङ् नेपाल (पुतली सडक)लाई पेय पदार्थमा ढुसी भेटिएपछि १ लाख ५० हजार जरिवाना गरियो । टिपटप समोसा पसललाई विग्रिएको दुधवरी विक्री गरेको अवस्थामा पाइएपछि २ लाख रुपैयाँ, बरुण वेभरेजलाई पेय पदार्थमा अखाद्य बस्तु भेट्टाएपछि २ लाख रुपैयाँ जरिवाना तिराइएको थियो ।

    भीम स्टोरलाई म्याद सकिएका मदिरा (वियर) नाइट क्लवमा आपूर्ति गरेकोले २ लाख रुपैयाँ, भृकुटीमण्डपको पीजी खाजा घरलाई समोसामा साङ्ला भेटिएपछि १० हजार रुपैयाँ, र वुढानिलकण्ठको पशुपति स्प्रिङ् वाटरलाई खानेपानीमा कीरा र लार्भा भेटिएकोले १ लाख रुपैयाँ जरिवाना गरिएको हो ।  

    महानगरको अनुगमन टोलीले साउनदेखि अहिलेसम्ममा ४३ दिन अनुगमन गरेको छ । यसमा १६५ वटा स्थानको अनुगमन भयो । बैठकमा अनुगमन प्रगतिका विषयमा जानकारी गराउँदै अनुगमन टोलीका सम्पर्क व्यक्ति पुष्कर खड्काले जानकारी दिए । उनकाअनुसार साउनमा मिठाइ पसलको, भदौमा पानी र जारको, असोजमा दशैँ लक्षित खाद्य तथा पेय पदार्थको र कार्तिकको वितेका दिनमा खसी बजार, खाद्य पदार्थको अनुगमन भएको छ ।   

    बजार अनुगमन गर्दा खाद्य पदार्थ (चालम, दाल, मसला, फलफुल, मिठाइ) को मात्र अनुगमन गरेर हुँदैन । बैठकमा समितिका सदस्य एवं वडा नं.१८ का अध्यक्ष न्हुच्छेकाजी महर्जनले भने, ‘विजुलीको शुल्क तिर्दा १० प्रतिशत सेवा शुल्क लिने गरिएको छ । यो के हो ? आयल निगमको स्वचालित मूल्य भनेको छ, अन्तरराष्ट्रिय बजारमा भाउ बढ्ने वित्तिकै यहाँको भाउ पनि बढाउने तर घटेको बेला उत्तिकै दरमा भाउ घटेको कि छैन त्यो पनि हेर्नुपर्छ ।’

    बैठकमा वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागका निरीक्षण अधिकृत दिपेन्द्र रेग्मीले, साउन यता देशभरमा ५ सय १० वटा टोलीले १ हजार ७ सय ४७ वटा अनुगमन गरेको जानकारी दिँदै यसबाट ४ सय ७१ बाट कागजपत्र माग गरेको, ४६ वटा फर्मबाट १ करोड ३७ लाख मुल्य बराबरका बस्तु तथा सामान नष्ट गरिएको, अनुचित क्रियाकलाप गर्नेलाई जरिवाना गर्दा १ करोड ६४ लाख ५२ हजार रुपैयाँ राजस्व संकलन भएको जानकारी दिए । 

    त्यस्तै नेपाल गुणस्तर तथा नापतौल विभागका रामकुमार श्रेष्ठले, संयुक्त अनुगमनबाट नतिजा निकाल्न सकिने बताउँदै संयुक्त अनुगमन हुन नसके पनि संयुक्त बैठकबाट आपसी प्रगति आदानप्रदान गर्नुपर्ने बताए ।    

    बैठकमा तिहारमा प्रयोग गरिने भाइ मसला, मिठाइ, फलफुल, जुसजस्ता खाद्य बस्तुमा हुन सक्ने मिसावट तथा अनुचित लाभ रोक्नु पर्नेमा जोड दिइएको थियो । तिहारमा बालिने बत्तीका विषयमा ध्यान गएको छैन । सस्तो सामानलाई चर्को मुल्यमा विक्री गरिएको विषयप्रति अनुगमन टोलीले सुनुवाई गर्नुपर्छ । अधिकारीहरुको जोड थियो । 

     


    images
    images

    Logo