काठमाडौं । भारत सरकारले नेपालका भूकम्प पिडितका लागि थप आपत्कालीन राहत सहयोग सामग्री पठाएको छ । सो सामाग्री सोमवार नेपाल सरकारलाई हस्तान्तरण गरिएको छ ।
भारत सरकारका तर्फबाट भारतीय राजदूतावासका नियोग उप–प्रमुख प्रसन्न श्रीवास्तवले बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेललाई राहत सामग्री हस्तान्तरण गरे । त्यसरी भारतले पठाएका सामाग्रीमा अत्यावश्यक चिकित्सा तथा सरसफाइ सामग्री, त्रिपाल, स्लिपिङ ब्याग र कम्बल सहितको नौ टन राहत सामग्री रहेको बताइएको छ ।
ती सामाग्री भारतीय वायुसेनाको विशेष विमान सी–१३० मार्फत नेपालगञ्ज ल्याइएको हो । यसअघि आईतवार पनि भारत सरकारले भारतीय बायु सेनाको विमानमार्फत ११ टन अत्यावश्यक राहत सामग्री नेपालगञ्जबाटै हस्तान्तरण गरिएको थियो । कात्तिक १७ गते जाजरकोटमा गएको भूकम्पपछि नेपाल सरकारलाई सहयोग गर्ने भारत पहिलो मुलुक हो ।
त्रिपाल, टारपोलिन सिट, कम्बल, स्लिपिङ ब्याग, अत्यावश्यक औषधी र चिकित्सा उपकरण सहितको १६ करोड रुपैयाँ बराबरको ११ टनभन्दा बढी आपत्कालीन राहत सामग्रीको पहिलो खेप भारतले नेपाल सरकारलाई आईतवार हस्तान्तरण गरेको थियो ।





