धरान । बीपी कोइराला स्वास्थ विज्ञान प्रतिष्ठान धरानका आन्दोलनरत शिक्षक डाक्टर र पदाधिकारीहरुबिच सहमति भएको छ । मेयर हर्क साम्पाङको रोहवरमा प्रतिष्ठानको गेष्ट हाउसमा भएको वार्तामा आज आन्दोलनकारी र पदाधिकारीहरुबिच सहमति भएको हो ।
तीन बुँदे सहमतिपछि आन्दोलनरत डाक्टरहरु आजैदेखी काममा फर्कने भएका छन् ।
पदाधिकारी र चिकित्सकबीच भएको वार्तामा ०७२ पुस २० र ०७२ माघ २४ गते करार सेवाका लागि प्रकाशित विज्ञापन बमोजिम आवश्यक प्रक्रिया पुर्याई टुङ्ग्याउने सहमति भएको छ ।
यस्तै अन्तर्वार्ता हुन बाँकी रहेका शिक्षक पदको अन्तर्वार्ता आगामी ०८० पुस ०२ गतेदेखि सुरु गरी पुस १५ गते सम्ममा सम्पन्न गर्ने सहमति भएको छ ।
वार्तामा दुवै विज्ञापनको एक महिनाभित्र सञ्चालक परिषद्को बैठक बसी नतिजा प्रकाशन गर्ने सहमति भएको छ ।
सहमति पत्रमा प्रतिष्ठान व्यवस्थापनले शिक्षक समाज, समाजको सदस्य र कुनै शिक्षकप्रति पूर्वाग्रह नराख्ने र आन्दोलनरत सम्पूर्ण पक्षले आन्दोलनका सम्पूर्ण कार्यक्रमहरू आजैका मितिदेखि स्थगन गरी आ-आफ्नो कार्यमा सहभागी हुने उल्लेख छ ।
सहमति पत्रमा शिक्षक कल्याण समाजका तर्फबाट १२ शिक्षक चिकित्सक, प्रतिष्ठानका तर्फबाट उपकुलपति प्राडा प्रह्लाद कार्की, शिक्षाध्यक्ष सञ्जीव शर्मा, रजिस्ट्रार सूर्यप्रसाद सङ्ग्रौला, अस्पताल निर्देशक जगतनारायण प्रसाद, प्रतिष्ठानका कार्यकारिणी सदस्य ज्ञानेन्द्रबहादुर मल्ल र प्राडा स्मृति कार्कीले हस्ताक्षर गरेका छन् ।



