काठमाडौं । सरकारले विहीबार बसेको मन्त्रिपरिषद् निर्णय सार्वजनिक गरेको छ । कात्तिक १६ गते विहीबार बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न १८ निर्णय गरेको हाे ।
बैठकले उद्योग, वाणिज्य तथा आपुर्ति मन्त्री रमेश रिजाल चीनमा आयोजना हुने अन्तरराष्ट्रिय आयात मेलामा सहभागि हुनका लागि स्वीकृति दिएको छ । चीनको संघाईमा हुने उक्त छैठौं चीन अन्तरराष्ट्रिय आयात मेलामा उनी सहभागी हुने भएका हुन् ।
बैठकले काभ्रेपलाञ्चोकबाट निमा तामाङ र कालिकोटबाट देवराज धमलाको नागरिकता रद्द गर्ने निर्णय गरेको हो । तामाङको नाममा झुटो विवरण पेस गरी जिल्ला प्रशासन कार्यालय, काभ्रेपलाञ्चोकबाट वंशजको आधारमा जारी भएको र धमलाको नाममा जिल्ला प्रशासन कार्यालय, कालिकोटबाट जारी भएको नागरिकताको प्रमाणपत्र रद्द गरी नेपाली नागरिकबाट हटाउने निर्णय गरेको छ ।
यस्तै, अमेरिकामा आयोजना हुने भ्रष्टाचार सम्बन्धी कार्यक्रममा अख्तियार दूरुपयोग अनुसन्धान आयोगका आयुक्तलाई जान दिनेलगायतका निर्णयहरु गरेको छ ।
मन्त्रिपरिषद्ले उपप्रधान एवम् रक्षामन्त्री पूर्णबहादुर खडका नेतृत्वको प्रतिनिधिमण्डललाई संयुक्त अरव इमिरेटस् (यूएइ)मा आयोजना हुने ‘दुबई एयर शो, २०२३ को १८औँ संस्करण’मा सहभागी हुन स्वीकृति दिने निर्णय गरेको छ ।
बैठकले उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजाललाई चीनको सङ्घाइमा हुने छैटौँ चीन अन्तर्राष्ट्रिय आयात मेलामा सहभागी हुन स्वीकृति दिएको छ भने शिक्षा, विज्ञान तथा प्रविधि राज्यमन्त्री प्रमिला कुमारी नेतृत्वको प्रतिनिमण्डल ‘बेल्ट एण्ड रोड इनिसिएटिभ्स’मा भाग लिन यही कात्तिक २० देखि २१ गतेसम्म चीनको छाइछिङ भ्रमणको स्वीकृति प्रदान गरेको छ ।
बैठकले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राई नेतृत्वको प्रतिनिधिमण्डललाई आगामी मङ्सिर २५ देखि २९ गतेसम्म संयुक्त राज्य अमेरिकाको एटलाण्टामा आयोजना हुने भ्रष्टाचार निवारणसम्बन्धी राष्ट्रसङ्घीय सम्मेलनमा सहभागी हुन अनुमति दिएको छ ।
मन्त्रिपरिषद् बैठकले कृषि क्षेत्रमा प्रविधि विकास तथा हस्तान्तरण, व्यावसायिकरणलगायत विषयमा नेपाल सरकार र कोरियाबीच हुने समझदारीपत्र स्वीकृत गरेको छ भने सोही मन्त्रालयअन्र्तगत सञ्चालित परियोजनाका लागि २ सय ६१ जना राजपत्राङ्कित अस्थायी दरबन्दी स्वीकृत गरेको छ ।
बैठकले नुवाकोट जिल्ला किस्पाङ गाउँपालिकामा रहेको चार रापनी जग्गा पाँच शय्याको आधारभूत अस्पताल भवन निर्माणका लागि गाउँपालिकालाई उपयोग गर्न स्वीकृति दिने निर्णय गरेको छ भने बडीकेदार गाँउपालिका डोटीको प्रशासकीय भवन तथा १० शय्याको अस्पताल निर्माणका लागि राष्ट्रिय वनको १३ दशमलव दुई रोपनी जग्गा २५ वर्षसम्म उपयोग गर्न स्वीकृति दिएको छ ।
बैठकले सभाखोला बी जलविद्युत आयोजनाको भौतिक पूर्वाधार निर्माण गर्न सङ्खुवासभा जिल्लाको सभापोखरी गाँउपालिकामा वडा नं ३, ४, ५ र ६ मा रहेको राष्ट्रिय वन क्षेत्रको चार दशमलव २९०४ हेक्टर जग्गा २५ वर्षसम्म प्रयोग गर्न दिने तथा उक्त वन क्षेत्रमा रहेका एक सय २४ वटा रुख कटाउन स्वीकृति दिएको छ ।
मन्त्रिपरिषद्को निर्णयअनुसार मदन भण्डारी राजमार्गअन्र्तगत सुर्खेत जिल्लास्थित खम्बागाडे – पलौटे – विध्यापुर – गुटु – मायाताल सडकखण्डको स्तरउन्न्तीको लागि राष्ट्रिय वन क्षेत्रको १४ दशमलव ५९ हेक्टर जग्गा प्रयोग गर्न दिने र सो जग्गामा रहेका विभिन्न प्रजातिका १ हजार २सय ९२ रुख हटाइने भएको छ ।





