images
images

विश्व बैंकले नेपाललाई १४ अर्ब सहयोग गर्ने


  • 436
    SHARES
  • २०८० कार्तिक १६ गते बिहीबार

    विश्व बैंकले नेपाललाई १४ अर्ब सहयोग गर्ने

    काठमाडौं । विश्व बैंक र नेपालबीच ५१ करोड अनुदान र १३ अर्ब ३५ करोड सहुलियतपूर्ण कर्जाका लागि सम्झौता भएको छ । नेपालको स्वास्थ्य प्रणालीलाई सुदृढ गर्न ‘नेपाल गुणस्तर स्वास्थ्य प्रणाली’ कार्यक्रम सञ्चालन गर्न विश्व बैंकले सो रकम दिने भएको हो । 

    विश्व बैंकले सूचना जारी गर्दै १०० मिलियन डलर (आजको विनिमयदर अनुसार १३ अर्ब ३५ करोड रुपैयाँ) सहुलियतपूर्ण कर्जा र ३.८४ मिलियन डलर (आजको विनिमयदर अनुसार ५१ करोड २९ लाख रुपैयाँ) अनुदानका लागि सम्झौता गरिएकोबारे जानकारी दिएको छ । 

    स्वास्थ्य प्रणालीमा सुधारका लागि गरिएको उक्त सम्झौतामा नेपालका तर्फबाट अर्थ सचिव डा. कृष्णहरि पुष्कर र माल्दिभ्स, नेपाल र श्रीलंकाका लागि विश्व बैंकका देशीय निर्देशक फारिस हदाद–जेर्भोसले हस्ताक्षर गरेका थिए । अर्थमन्त्री डा. प्रकाशशरण महत, विश्व बैंकको सञ्चालनका लागि प्रबन्ध निर्देशक अन्ना ब्जेर्डे र दक्षिण एसियाका लागि विश्व बैंकका उपाध्यक्ष मार्टिन रेसरको उपस्थितिमा सम्झौताहरू आदानप्रदान भएको थियो ।

    संघीय सरकारको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले स्वास्थ्य बीमा बोर्डसँग समन्वय गरि उक्त कार्यक्रम सङ्घीय स्तर साथै कोशी र गण्डकी प्रदेशका केही स्थानीय तहमा समेत कार्र्यान्वयनमा ल्याउनेछ । 

    कार्यक्रमले गुणस्तरीय स्वास्थ्य सेवा पुर्‍याउन स्वास्थ्य प्रणालीको सुधार गर्ने, स्वास्थ्य बीमाको कभरेज बढाउने र चुनिएका प्रदेश र स्थानीय तहमा स्वास्थ्य आपतकालीन तयारी र प्रतिक्रिया क्षमतालाई सुदृढ पार्ने लक्ष्य लिएको छ । 


    images
    images

    Logo