काठमाडौं । सर्वोच्च अदालतले जन्मकैदको सजाय पाएका योगराज ढकाल रिगललाई आममाफी दिने निर्णय बदर गर्न आदेश दिएको छ । न्यायाधीशहरू ईश्वरप्रसाद खतिवडा, सपना प्रधान मल्ल र डा. कुमार चुडालको पूर्ण इजलासले बिहीवार रिगललाई तत्काल पक्राउ गर्न परमादेश समेत दिएको हाे ।
नेपालगञ्ज बजारमा खुँडा प्रहार गरेर व्यक्ति हत्या गरेको अभियोगमा उनलाई जन्मकैदको सजाय तोकिएको थियो । सर्वस्वसहित जन्मकैद पाएका तरुण दलका नेता रिगललाई संविधान दिवसका अवसरमा असोज ३ गते आममाफी दिइएको थियो ।
तर सर्वोच्चले उक्त निर्णय बदर गरिदिए पछि रिगल अब पुनः जेल जानेछन् । राष्ट्रपतिको निर्णय बदर गरी रिगललाई पुनः जेल पठाउनुपर्ने माग गर्दै चेतनकी पत्नी भारती शेर्पाले रिट दिएकी थिइन् ।