काडमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले औपचारिक रूपमा आरोहणका लागि खुला नगरिएका हिमाल आरोहणका लागि सरकारले अनुमति दिनुपर्ने बताएका छन् ।
नेपाल पर्वतारोहण सङ्घको ५० औँ वार्षिकोत्सवमा आज यहाँ आयोजित एक कार्यक्रममा राष्ट्रपति पौडेलले पर्वतीय पर्यटन विकास र प्रवर्द्धनका लागि हिमाल आरोहणका लागि अनुमति दिन सरकारलाई सुझाव दिए। उनले पर्वतीय पर्यटन क्षेत्रमा लागि थप काम गर्न संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई सुझाव दिए ।
“नेपालमा अनगिन्ती हिमाल छन्, जुन औपचारिक रुपमा आरोहणका लागि खुला गरिएको छैन । ती हिमालको आरोहणका अनुमति दिन र प्रवर्द्धन गर्न तत्काल पहल लिन जरुरी छ”, राष्ट्रपति पौडेलले भन्नुभयो, “म नेपाल सरकारलाई ती हिमालको व्यवस्थापन र प्रवर्द्धनको जिम्मेवारीका लागि उपयुक्त निर्णय लिन पनि सुझाव दिन चाहन्छु ।”
नेपाल सरकारले २७ वटा हिमालको आरोहण अनुमति व्यवस्थापन गर्ने दिएको जिम्मेवारी सङ्घले सफलतापूर्वक पूरा गरेको उनले उल्लेख गरे। राष्ट्रपति पौडेलले सबै हिमाल आरोहणका लागि खुला गरे त्यसबाट पर्यटकको आगमन बढ्ने र देशमा रोजगारी बढ्ने बताए।
नेपाल भ्रमणका क्रममा संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोरियो गुटेरेसले नेपालमा परेको जलवायु परिवर्तनको असरबारे विश्वको ध्यानाकर्षण गराउने प्रतिबद्धता स्मरण गर्दै राष्ट्रपति पौडेलले जलवायु परिवर्तनले हिमाल र हिमाली क्षेत्रमा परेको असर न्यूनीकरणका लागि गम्भीरतापूर्वक काम गर्न आवश्यक भएको बताए ।



