images
images

नेपालको पूर्वाधार विकासमा लगानी गर्न महासङ्घका अध्यक्ष ढकालको आग्रह 


  • 248
    SHARES
  • २०८० कार्तिक १५ गते बुधबार

    नेपालको पूर्वाधार विकासमा लगानी गर्न महासङ्घका अध्यक्ष ढकालको आग्रह 

    काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालको पूर्वाधार विकासमा लगानी गर्न निजी क्षेत्र र विकास साझेदारहरूलाई आग्रह गरेका छन् ।

    बेलायतको लन्डनमा आयोजित लगानी सम्मेलनलाई सम्बोधन गर्दै अध्यक्ष ढकालले ठूला पूर्वाधार विकासका लागि नेपालले थप बाह्य पुँजी खोजिरहेकाले विदेशी निजी लगानीकर्ता तथा विकास साझेदारका लागि नेपाल आकर्षक लगानी स्थल रहेको बताए ।

    जलविद्युत्लाई नवीकरणीय ऊर्जा गणनामा समावेश गर्ने भारतको हालैको निर्णयबारे अध्यक्ष ढकालले बढ्दो भारतीय बजारले जलविद्युत् आयोजनामा लगानीको थप अवसर प्राप्त भएको प्रस्ट पारे । बङ्गलादेशको सुदृढ अर्थतन्त्रले ऊर्जा माग बढ्दा नेपालको जलविद्युत्का लागि थप बजार सृजना भएको उनले सम्बोधनका क्रममा बताउनुभएको महासङ्घद्वारा आज जारी प्रेस नोटमा उल्लेख छ । 

    अध्यक्ष ढकालले भने, “दुई ठूला आकर्षक ऊर्जा बजार लक्षित नेपालको जलविद्युत्मा लगानी र सहकार्यका लागि बेलायती लगानीकर्ताहरूका साथै बहुपक्षीय र द्विपक्षीय विकास साझेदारहरूलाई विशेष आमन्त्रण गर्दछु ।” नेपाल बेलायती पर्यटकका लागि पहिलेदेखि नै लोकप्रिय गन्तव्य रहेको उल्लेख गर्दै उनले थप पर्यटकहरूलाई स्वागत गर्न तयार र उत्साहित रहेको बताए । 

    “काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको स्तरोन्नति भएको तथा  भगवान् बुद्धको जन्मस्थल लुम्बिनी र प्रसिद्ध पर्यटकीय गन्तव्य पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गरिएकाले पर्यटकहरूलाई नेपाल घुम्न थप सहज भएको छ”, अध्यक्ष ढकालले भने, “त्यसैले बढ्दो पर्यटन बजारका लागि केबलकार, रिसोर्ट, थिमपार्क, हिल स्टेसन र स्तरीय होटेलजस्ता पर्यटन पूर्वाधारमा लगानीको ठूलो सम्भावना रहेको छ ।” 

    बहुराष्ट्रिय कम्पनीहरूले नेपालमा गरेको लगानीबाट उच्च प्रतिफल प्राप्त गरिरहेकाले उत्पादन, कृषि प्रशोधन, आइसिटीसहित अन्य क्षेत्रमा लगानी बढाउन पनि अध्यक्ष ढकालले आग्रह गरे । उनले निर्यात  बजार विस्तार भइरहेको र विभिन्न मुलुकसँग सहुलियतपूर्ण व्यापार सम्झौताहरू समेत भएकाले नेपालमा निर्यात केन्द्रित लगानीको अवसर रहेकोतर्फ लगानीकर्ताको ध्यानाकर्षण गराए  ।

    लगानीका अवसरहरूको खोजी गर्न र लगानीमा हुने अवरोध हटाउन महासङ्घले लगानीकर्तालाई सहयोग गर्न संरचना तयार गरेको जानकारी दिँदै अध्यक्ष ढकालले विश्वस्त भएर नेपालकमा लगानी गर्न आह्वान गरे ।

    बेलायतस्थित नेपाली राजदूतावासको पहलमा आयोजित लगानी सम्मेलनमा, अर्थमन्त्री डा प्रकाश शरण महतसहित बेलायतको अन्तर्राष्ट्रिय लगानी निकायका उच्च अधिकारीहरू तथा बेलायती निजी लगानीकर्ताहरूले लगानीका अवसरहरूबारे छलफल भएको थियो ।


    images
    images

    Logo