काठमाडौँ । काठमाडौं महानगरपालिकाले बितेका दुई महिनामा १ अर्ब १७ करोड १३ लाख ७५ हजार रुपैयाँ राजस्व संकलन गरेको छ । यो गत वर्षको तुलनामा २५.३९ प्रतिशत बढी हो । गत आर्थिक बर्षको सोही अवधिमा काठमाडौं महानगरपालिकाले ९३ करोड ४१ लाख रुपैयाँ मात्र राजस्व संकलन गरेको थियो ।
राजस्व संकलनको काम वडा कार्यालयबाटै हुन थालेसँगै पछिल्लो समय काठमाडौं महानगरपालिकाको लामो समयदेखिको बक्यौता रकम उठ्न थालेको छ । काठमाडौं महानगरपालिकाले ३२ वटै वडा कार्यलयबाट राजस्व संकलन गर्न थालेसँगै लामो समयदेखि असुलउपर हुन नसकेको बक्यौता रकम उठ्नुको साथै करदाता संख्या बढेको बताइएको छ ।
त्यस्तै, लामो समयदेखि उठ्न नसकेको बक्यौता रकम जरिवानाको कारण तिर्न आनाकानी गरिरहेका करदाताहरुको लागि आगामी पुस मसान्तसम्म जरिवाना रकममा छुट दिएकाले राजस्व संकलनमा सहज भएको छ ।
यसअघि राजस्व तिर्नका लागि वार्षिक तीन लाखसम्म सम्बन्धित वडा कार्यालय र त्यसभन्दा बढी रकम तिर्न काठमाडौं महानगरपालिकाको केन्द्रमा आउनुपर्ने व्यवस्था रहेको राजस्व विभाग प्रमुख ध्रुव काफ्लेले भने ।
प्रत्येक वडा कार्यलयबाट राजस्व संकलनको व्यवस्थासँगै वडा सदस्य र कर्मचारीको नेतृत्वमा सचेतना कार्यक्रम सञ्चालन गर्दा राजस्व संकलनमा थप सहजता भएको प्रमुख काफ्लेले जानकारी दिए ।
हाल काठमाडौं महानगरपालिकामा सम्पत्ति कर र बहाल कर बुझाउने करदाताको संख्या उल्लेख्य बढेको काठमाडौं महानगरपालिकाको भनाइ छ । हाल काठमाडौं महानगरपालिकाले करिब ४ लाख करदाता रहेका छन् ।
हाल काठमाडौं महानगरपालिकाले सम्पत्ति कर, बहाल कर, मनोरञ्जन कर, व्यवसाय, विज्ञापन कर गरी मुख्य नौ शीर्षकमा कर संकलन गर्दै आएको छ । चालु आर्थिक बर्षका लागि काठमाडौं महानगरपालिकाले १० अर्ब ४१ करोड राजस्व असुलको लक्ष्य लिएको राजस्व विभागका प्रमुख काफ्लेले जानकारी दिए ।
गत आर्थिक बर्षको सोही अवधिलाई तुलना गर्दा चालु आर्थिक बर्षको साउन र भदौमा २४ करोड बढी राजस्व असुल भएको छ । चालु आर्थिक बर्षको दुई महिनाको अवधिमा सबैभन्दा बढी घरबहाल करबाट ५२ करोड राजस्व असुल भएको छ । गत वर्षभन्दा यसवर्ष सम्पत्ति करमा मात्रै ६४८ करदाता बढेका छन् ।
बहाल करतर्फ पनि करदाता बढेका छन् । पछिल्लो समय मात्रै १ हजार ३ सय करदाता थपिएका छन् । काठमाडौं महानगरपालिकाले बक्यौता रकम असुल गर्न छुट दिएको छ ।



