नेपालगञ्ज । नेपाल विद्युत् प्राधिकरण नेपालगञ्ज वितरण केन्द्रले तिर्न बाँकी विद्युत् महसुल असुली अभियान सुरु गरेको छ । उक्त कार्यालयले अहिलेसम्म दुई दिनको अवधिमा १ करोड ८० लाख ६८ हजार ६ सय ७० रुपैयाँ वक्यौता असुली गरेको छ । अभियानअन्तर्गत सोमबार २ हजार ५ सय ४७ ग्राहकबाट ८५ लाख ४१ हजार ८ सय ७० रुपैयाँ र आइतबार २ हजार ५ सय ७४ रुपैयाँ ग्राहबाट ९५ लाख २६ हजार ८ सय रुपैयाँ वक्यौता असुली भएको केन्द्रले जनाएको छ ।
विद्युत वक्यौता महसुल असुली अभियानअन्तर्गत अनलाइन भुक्तानीमार्फत १ सय १२ ग्राहकको १७ लाख ६० हजार रुपैयाँ रकम सङ्कलन भएकामा ६१ जनाको पुनः लाइन जोडी ९ लाख १२ हजार ८ सय रुपैयाँ वक्यौता पनि असुली भएको थियो ।
त्यस्तै १ सय ६३ जनाको ११ लाख ८७ हजार ४ सय ६० रुपैयाँ वक्यौता असुली भएकामा २१ जनको पुनः लाइन जोडेर ८ लाख ७४ सय ६० रुपैयाँ वक्यौता असुली भएको वितरण केन्द्रले जनाएको छ । मध्यरातिसम्म अनलाइन भुक्तानी हुने भएकाले सो रकम बुझाउनेको सङ्ख्या अझ बढ्ने वितरण केन्द्रका लेखा प्रमुख बुद्धीसागर भुषालले जानकारी दिए ।
प्राधिकरणले थालेको अभियान तथा जनचेतनाका कारण नेपालगञ्ज वितरण केन्द्रमा हुने नियमित सरदर सङ्कलनको दोब्बर रकम सङ्कलन भएको बताइएको छ ।
त्यस्तै कोहलपुर वितरण केन्द्रले उक्त क्षेत्रबाट १२ लाख ३१ हजार ५ सय ६ रुपैयाँ वक्यौता रहँदा १ सय ४ जनाको लाइन काटिएकोे जनाएको छ । विद्युत् महसुल भुक्तानी गर्न ६० दिन नाघेका ग्राहकलाई सार्वजनिक सूचनामार्फत अविलम्ब भुक्तानीको लागि आग्रह गरेपछि प्राधिकरणले बक्यौता महसुल असुलीमा कडाइ गर्न थालेको थियो ।



