images
images

१३२ केभी डबल प्रसारण लाइनको तार फेर्न सर्लाही लालबन्दीका स्थानीयको अवरोध


  • 603
    SHARES
  • २०८० आश्विन २७ गते शनिबार

    १३२ केभी डबल प्रसारण लाइनको तार फेर्न सर्लाही लालबन्दीका स्थानीयको अवरोध

    काठमाडौं ।  सर्लाहीको लालबन्दी क्षेत्रका बासिन्दाले १३२ केभी डबल सर्किट प्रसारण लाइनको स्तरोन्नति (तार फेर्ने)कार्यमा अवरोध गरेका छन् । करिब ४१ वर्षअघि निर्माण गरिएको प्रसारण लाइनको मार्गधिकारमा पर्ने जग्गाको मुआब्जा तथा क्षतिपूर्ति पाउनुपर्ने लगायतका माग राख्दै स्थानीयले प्रसारणलाईन निर्माणमा अवरोध गरेका हुन् । स्थानीयको अवरोधका कारण गत १९ असोजबाट काम ठप्प छ ।

    नेपाल विद्युत प्राधिकरणले पूर्व–पश्चिम १३२ केभी डबल सर्किट प्रसारण लाइनको क्षमता वृद्धि गरी विद्युत् प्रवाह बढाउन मकवानपुरको हेटौंडादेखि धनुषाको ढल्केबर सबस्टेसनसम्मको करिब १३६ किलोमिटर खण्डमा पर्ने कम क्षमताको पुरानो तारलाई बदलेर नयाँ तार राखी प्रसारण प्रणाली सुधार गर्न लागेको हो ।

    यसबाट त्यस क्षेत्रको विद्युत् आपूर्तिमा सुधार हुने, पश्चिम क्षेत्रमा उत्पादित विद्युत्लाई पूर्वतर्फ थप प्रवाह गर्न सकिने, ढल्केबरबाट पश्चिमतर्फ विद्युत् प्रवाहका लागि थप सहज हुने र देशभित्र खपत गरी अतिरित्त भएको विद्युत्लाई ढल्केबर सबस्टेसनमार्फत भारततर्फ निर्यात गर्न सकिन्छ ।

    ढल्केबर सबस्टेसनबाट सर्लाहीको लालबन्दी नगरपालिका–१ स्थित नवलपुर सबस्टेसनसम्मको करिब ४० किलोमिटर लाइनमध्ये एउटा सर्किटको करिब ३६ किलोमिटर तार फेरिएको छ । तर, लालबन्दी बजार क्षेत्रका स्थानीयको अवरोधका कारण करिब ४ किलोमिटर तार फेर्ने काम रोकिएको छ । तार बदल्ने क्रममा टावरमा जोडिएको पुरानो तार काटेर अस्थायी रुपमा बाँधी राखिएको छ । एउटा सर्किट बन्द हुँदा ढल्केबरबाट पश्चिमतर्फ र हेटौंडाबाट पूर्वतर्फ विद्युत् प्रवाह गर्न समस्या हुँदा यसले देशकै समग्र विद्युत् प्रसारण प्रणाली प्रभावित बनाइरहेको छ ।

    कन्डक्टर बदल्न एउटा सर्किट बन्द गरिएकाले अहिले लाइन क्षमताले नधान्दा ट्रिपिङलगायतका समस्या आई विद्युत् मागलाई व्यवस्थापन गर्ने असहज भइरहेको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए । ‘अवरोध हटाउन हाम्रो तर्फबाट सक्दो प्रयास र पहल भइरहेतापनि सफल हुन सकिरहेका छैनौं,’ उनले भने । तत्काल काम गर्न नसके ढल्केबरबाट थप विद्युत् पश्चिमतर्फ पठाउन नसकी हिउँदमा वीरगञ्जलगायतका क्षेत्रमा लोडसेडिङ गर्नुपर्ने अवस्था आउने उनको भनाइ छ ।

    १३२ केभी प्रसारण लाइनको मध्यविन्दुबाट दायाँवायाँ ९÷९ मिटर मार्गधिकार तोकिएको छ । बैंक तथा वित्तीय संस्थाले उक्त मापदण्डभन्दा विपरीत ५० मिटरसम्म पर्ने जग्गाकोसमेत धितो नलिने गरेको स्थानीयले गुनासो गर्दै आएका छन् । तार फेर्ने कार्यलाई खण्ड–खण्ड विभाजन गरी काम भइरहेको छ । पहिलो खण्डमा हेटौंडाबाट पथैलियासम्मको काम सम्पन्न भइसकेको छ । दोस्रो खण्डमा ढल्केबरबाट नवलपुरसम्मको तार फेर्ने काम भइरहेको छ ।

    तेस्रो खण्डमा नवलपुरबाट रौतहटको चपुरसम्म र चौथो खण्डमा चपुरबाट पथैलियासम्मको तार पर्ने काम अगाडि बढाइने छ । एउटा सर्किटको काम सकिएपछि उक्त लाइनलाई चालू गरी अर्को सर्किटको तार फेर्न सुरु गरिने छ । १३२ केभी प्रसारण लाइनको कन्डक्टर स्तरोन्नतिका लागि भएको ठेक्का सम्झौता ४ साउन २०७९मा कार्यान्वयनमा आएको थियो । आयोजनाको काम २०८१ पुसभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।

     


    images
    images

    Logo