काठमाडौं । दशैं नजिकिँदो छ । दशैंमा काठमाडौं उपत्यका वा मुख्य शहरबाट गाउँमा जाने यात्रुको चाप बढी हुन्छ । यात्रुवाहक सवारीसाधनहरुले पनि दशैं तिहारलाई कमाई गर्ने प्रमुख समयको रुपमा लिन्छन् ।
दशैं नजिकिँदै गर्दा सडकको अवस्था तथा लामो रुटहरुमा अग्रिम बुकिङको सम्बन्धमा बुधबार पूर्वाधार विकास समितिले मन्त्री ज्वालालाई बोलाएर छलफल गरेको थियो । बैठकमा समितिका सदस्यहरुले मुख्य तथा सहायक सडकहरुको मर्मतको बारेमा सोधेका थिए ।
छलफलको क्रममा उनले सडक मर्मत गर्न तथा खाल्डाखुल्डी पुर्न तथा आफूले सम्बन्धित निकायलाई निर्देशन दिइसकेको उल्लेख गर्दै जारी मनसुन र बजेटको अभावले काम असहज भइरहेको बताए । ‘मर्मत गर्न बजेट पर्याप्त पनि छैन, अहिले त मनसुन नबाहिरिएकोले पनि अफ्ठ्यारो भइरहेको छ ।’
नयाँ स्तरोन्नति भइरहेको सडकहरुमा समेत सडक मर्मतमा कठिन भन भइरहेको बताए । हाल पूर्वपश्चिम राजमार्ग ६ लेनमा स्तरोन्नति हुँदैछ । मुग्लिन पोखरा सडक ४ तथा नागढुंगा मुग्लिन सडक २ देखि ६ लेनसम्म विस्तार भइरहेको छ । ज्वालाले दशैंको लागि अग्रिम टिकट खुलाउने तयारी भने पूरा भइसकेको उल्लेख गरे ।



