images
images

भारतले बनाउँदै गरेको ढल्केबर–सीतामढी प्रसारण लाइन नेपालले पनि प्रयोग गर्न पाउने 


  • 910
    SHARES
  • २०८० आश्विन ४ गते बिहीबार

    भारतले बनाउँदै गरेको ढल्केबर–सीतामढी प्रसारण लाइन नेपालले पनि प्रयोग गर्न पाउने 

    काठमाडौं । भारतले बनाउँदै गरेको ढल्केबर–सीतामढी प्रसारण लाइन नेपालले पनि प्रयोग गर्न पाउने भएको छ । नेपाल र भारतको ऊर्जा अधिकारीहरुको संयुक्त प्राविधिक टोली (जेटीटी) को १४ औं वैठकमा ४४० केभीको उक्त प्रशारण लाइन नेपाललाई पनि प्रयोग गर्न दिने सहमति भएको हो । 

    उक्त वैठकमा ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयका सहसचिव सन्दीपकुमार देवले नेपालको नेतृत्व र भारतको केन्द्रीय विद्युत् प्राधिकरणका प्रमुख इन्जिनियर राजेश गोयलले भारतको नेतृत्व गरेका थिए । 

    उक्त वैठकमा विभिन्न प्रशारण लाइनहरुको सहप्रयोग सम्बन्धमा ८ बुँदामा सहमति भएको छ । सहमति अनुसार नेपाल–भारत विद्युत् व्यापारको महत्वपूर्ण पूर्वाधार ढल्केबर– मुजफ्फरपुर ४०० केभी प्रसारण लाइनबाट अब आठ सय मेगावाटभन्दा धेरै विद्युत् निर्यात गर्न सकिने छ । दुई देशबिचको सहमति अनुसार हालसम्म आठ सय मेगावाट मात्रै विद्युत् निर्यात गर्न सकिने अवस्था थियो । अब निर्माण सम्पन्न हुनै लागेको हेटौँडा–ढल्केबर–इनरुवा ४०० केभी प्रसारण लाइन तयार भएपछि ढल्केबर मुजफ्फरपुर प्रसारण लाइनबाट थप विद्युत् आदान प्रदान हुने छ । 

    सतलज जलविद्युत् निगमले अरुण तेस्रो जलविद्युत् आयोजनाको बिजुली भारत लैजान बनाइरहेको ढल्केबर सीतामढी प्रसारण लाइनमा पनि नेपाल विद्युत् प्राधिकरणले थप विद्युत् निर्यात गर्न पाउने सहमति जुटेको छ । यसले भविष्यमा ढल्केबर मुजफ्फरपुर प्रसारण लाइन क्षमता पूर्ण भएका अवस्थामा पनि एसजेभिएनले बनाइरहेको ढल्केबर सीतामढी ४०० केभीसमेत निर्यात उपयोगमा लिन पाइने छ । यो प्रसारण लाइन अब आयात निर्यात दुवै उद्देश्यमा प्रयोग हुने छ । 

    न्यु नौतुनवा–मनहिया १३२ केभी प्रसारण लाइन पनि आगामी अक्टोबरमै सञ्चालनमा ल्याउने सहमति भएको छ । त्यस्तै १३२ केभी क्षमताकै कोहलपुर नानपारा प्रसारण लाइन पनि विद्युत् आयात निर्यात सुविधा उपलब्ध हुने गरी चालु आर्थिक वर्षभित्रै सञ्चालनमा ल्याउने सहमति भएको छ । 

    नेपालभित्रको विद्युत् आपूर्तिलाई दिगो बनाउनुका अतिरिक्त अन्तर्देशीय विद्युत् व्यापारलाई सहज बनाउन महत्वपूर्ण मानिएको पूर्व–पश्चिम विद्युत् ४०० सय केभी प्रसारण लाइन पनि छिटो निर्माण सम्पन्न गर्न दुवै देशले सक्रियता देखाउने सहमति भएको छ । भारतीय सहयोगमै निर्माणाधीन हुलाकी राजमार्गको समानान्तर प्रसारण लाइन निर्माणको प्रक्रिया जारी छ ।

    पश्चिम नेपालको विद्युत् आपूर्तिलाई दिगो बनाउने र सो क्षेत्रमा भविष्यमा उत्पादन हुने विद्युत् निर्यात गर्न सहज हुने गरी टनकपुर–महेन्द्रनगर ४०० सय केभी प्रसारण लाइन निर्माणको पनि दुई देशीय प्राविधिक टोलीले सम्भाव्यता अध्ययन गर्ने भएको छ । टनकपुर बरेली प्रसारण लाइनबाट हाल ७० मेगावाट मात्रै विद्यत् निर्यात हुन सक्छ । उक्त सीमिततालाई हटाइ नयाँ उच्च क्षमताको प्रसारण लाइन निर्माणको तयारी समेत गरिएको छ । 


    images
    images

    Logo