दमौली । तनहुँको ऋषिङ गाउँपालिका–१ झापुटारमा निर्माणाधीन एक सय ४० मेगावाट क्षमताको तनहुँ जलविद्युत आयोजनाको समग्र प्रगति ४३ प्रतिशत पुगेको छ । निर्माण सुरु भएको चार वर्षमा आयोजनाले ३ वटा प्याकेजमा ४३ प्रतिशत प्रगति हासिल गरेको हो ।
तीन वटा खण्डमा काम तीव्र गतिमा भइरहेको तनहुँ जलविद्युत् आयोजनाको प्रबद्र्धक कम्पनी तनहुँ हाइड्रोपावर लिमिटेडका प्रबन्ध सञ्चालक किरणकुमार श्रेष्ठले जानकारी दिए । तीनवटै प्याकेजको समग्र भौतिक प्रगति ४३ प्रतिशत रहेको श्रेष्ठको भनाइ छ । उहाँका अनुसार प्याकेज–१ अन्तर्गत बाँध निर्माण २५ प्रतिशत, प्याकेज २ अन्तर्गत विद्युत् गृह निर्माण ४५ प्रतिशत र प्याकेज ३ अन्तर्गत प्रसारण लाइन निर्माण ६९ प्रतिशत भौतिक प्रगति भएको छ ।
उनले भने, “तीन वटै प्याकेजको काम तीव्र गतिमा भइरहेको छ, आयोजनाको प्रगति सन्तोषजनक रहेको छ ।” कोभिड–१९ को सङ्क्रमणको बेला पनि काम नरोकिएको बताउँदै श्रेष्ठले चाडपर्वका बेला पनि कामलाई गति दिइएको बताए । प्याकेज तीन अन्तर्गत वनको नीतिगत समस्याका कारण केही ढिलाइ भएको छ । यसबारेमा सम्बन्धित मन्त्रालयमा समस्या समाधानका लागि पहल भइरहेको उहाँले बताए ।
प्रसारण लाइन निर्माणका लागि ६९ टावरको जग खन्ने काम सकिएको छ भने ३३ टावर जडान सम्पन्न भइसकेको छ । प्याकेज २ अन्तर्गत भूमिगत विद्युत्गृहको भौतिक निर्माण ६६ प्रतिशत सकिएको छ । इलेक्ट्रोनिकल मेकानिकल अन्तर्गत १० प्रतिशत प्रगति हासिल भएको छ ।
आयोजनाको पहिलो प्याकेज अन्तर्गत एक सय ४० मिटर अग्लो बाँधलगायतका संरचना सोङ दा कर्पोरेसन, भियतनाम–कालिका कन्सट्रक्सन प्रालि नेपाल जेभिले निर्माण गरिरहेको छ । जसअन्तर्गत अहिले मुख्य बाँध निर्माणका लागि नदी फर्काउनका लागि आवश्यक डाइभर्सन सुरुङ, बाँधको माथिल्लो भाग तथा स्लोप खन्ने कार्य, प्रवेश सडकको स्तरोन्नति भइरहेको आयोजना प्रमुख राजभाइ शिल्पकारले जानकारी दिए ।
आयोजनाको सुरुङ, विद्युत्गृह निर्माण र हाइड्रोमेकालिन तथा इलेक्ट्रोमेकानिकल उपकरण आपूर्ति, जडान तथा सञ्चालन लगायतका दोस्रो प्याकेजको निर्माण चिनियाँ कम्पनी सिनो हाइड्रो गरिरहेको छ । आयोजनाको तेस्रो प्याकेज अन्तर्गत दमौलीबाट चितवनको भरतपुरसम्म दुई सय २० केभीको डबल सर्किट प्रसारण लाइन निर्माणकार्य केइसी, भारतले गरिरहेको छ । आयोजनाको समग्र निर्माण २०८३ असारभित्र सक्ने लक्ष्य राखिएको छ ।
आयोजनाको प्याकेज १ अन्तर्गत हेडबक्र्स निर्माण कार्यका लागि सोङ दा कर्पोरेसन, भियतनाथ कालिका कन्स्ट्रक्सन प्रालि, नेपाल जेभीसँग विसं २०७७ चैत ९ गते २१ अर्ब ६६ करोड ४० लाख ४१ हजार ८ सय ७८ रुपैयाँ मा खरिद सम्झौता भएको थियो ।
यो प्याकेज अन्तर्गत मुख्य बाँध निर्माणका लागि नदी फर्काउन आवश्यक पर्ने डाइभर्सन सुरुङ १ र २ को निर्माण कार्य जारी रहेको आयोजनाले जनाएको छ । दुवै डाइभर्सन सुरुङको इनलेट र आउटलेटबाट खन्ने काम भइरहेको आयोजनाले जनाएको छ । बाँधको माथिल्लो भागको स्लोप खन्ने काम अन्तर्गत हालसम्म इलिभेसन तह ५ सय ४४ मिटरबाट ४ सय ८० मिटरसम्म खन्ने काम सम्पन्न भइसकेको छ ।
यसैगरी बाँधको दायाँ किनारातर्फबाट माथिल्लो भागको स्लोप खन्नका लागि पहुँच सडक निर्माण कार्य सुरु गरिएकामा वर्षाका कारण प्रभावित भएको थियो । हालसम्म इलिभेसन तह ४ सय ७० मिटरसम्म खन्ने काम सकिएको आयोजनाले जनाएको छ ।
आयोजनाको प्याकेज दुईको निर्माणका लागि सिनो हाइड्रो कर्पोरेशनसँग २०७५ साल असोज १५ गते अमेरिकी डलर एक अर्ब रु १४ करोड एक लाख ८८ हजार नौ सय ५८ र ३ अर्ब ८३ करोड १३ लाख ६० हजार ३ सय ६१ रुपैयाँ मा खरिद सम्झौता भएको थियो । खरिद सम्झौता बमोजिम निर्माण सुरु गर्न कार्यादेश जारी गरेपश्चात् सिनोले २०७५ साल माघ ६ गतेबाट आयोजनास्थलमा परिचालित भई निर्माण जारी राखेको छ ।
यो प्याकेज अन्तर्गत ८९ मिटर लम्बाइ, २२ मिटर चौडाइ र ५१ मिटर उचाइ भएको भूमिगत विद्युतगृह खन्ने काम विसं २०७९ असार १० गते सम्पन्न भएको आयोजनाले जनाएको छ । यसका अतिरिक्त मुख्य पहुँच सुरुङ, केबल सुरुङ र सेती नदीको दायाँतर्फबाट बाँधस्थलतरि जाने तथा सर्ज ट्याङ्कतर्फको पहुँच सुरुङ निर्माण सम्पन्न भएको आयोजना प्रमुख शिल्पकारको भनाइ छ ।
आयोजनाको एक हजार चार सय ५६ दशमलव नौ मिटर लामो मुख्य सुरुङ २०७८ साल कात्तिकबाट खन्न सुरु गरिएकामा मङ्सिर मसान्तसम्म ६८० मिटर खन्ने काम सकिएको छ । आयोजनाको २ सय १० दशमलव ९ मिटर टेलरेस सुरुङ २०७७ साल फागुन २९ गतेदेखि खन्न सुरु गरिएकामा उक्त काम सम्पन्न भइसकेको छ ।
हाइड्रोमेकानिकल तथा इलेक्ट्रोमेकानिल कार्य अन्तर्गत पेनस्टक जडानका लागि खन्ने काम ६४ मिटर रहेकामा सम्पूर्ण पेनस्टक खन्ने कार्य सकिएको छ । प्याकेज तीन अन्तर्गत प्रशारण लाइन निर्माणका लागि ६९ वटा टावरको जग हालिसकिएको आयोजनाले जनाएको छ । कूल ३३ वटा टावर जडान कार्य सम्पन्न भएको र आठ स्थानमा टावर प्रोटेक्सन कार्य गरिएको छ । ३४ दशमलव सात किमि प्रशारण लाइनमा ९४ वटा टावर राखिनेछ ।
प्रशारण लाइन निर्माण सन् २०२२ मेसम्म सम्पन्न गर्ने लक्ष्य राखिएकामा कोभिड १९ को महामारी र वन क्षेत्रको रुख कटानको स्वीकृति वन मन्त्रालयबाट प्राप्त हुन ढिलाइ हुँदा सम्झौताको म्याद सन् २०२४ डिसेम्बर १९ सम्म थप गरिएको छ ।
कम्पनीको पुँजी संरचना तथा वित्तीय व्यवस्थापन आयोजनाको कूल लागत (प्रसारण लाइन, ग्रामीण विद्युतिकरण तथा निर्माण अवधिको ब्याज समेत) ५० करोड ५० लाख अमेरिकी डलरको लागि एडिबीले १५ करोड, जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाईका)ले १८ करोड ४० लाख, युरोपियन लगानी बैंकले ८ करोड ५० लाख र नेपाल सरकार÷नेपाल विद्युत प्राधिकरणले ८ करोड ६० लाख डलर व्यहोर्ने गरी वित्तीय व्यवस्थापन गरिएको छ ।



