काठमाडौं । लगानी नजुट्दा २६०० मेगावाटको आयोजनाको पीपीए खारेज भएको छ । स्वतन्त्र उर्जा उत्पादक संघ नेपाल (इप्पान) का अनुसार हालसम्म निजी क्षेत्रले लाइसेन्स पाएका आयोजनामध्ये स्रोतको अभावमा सो बराबर आयोजनाको विद्युत् खरिद सम्झौता हुन नसकेको हो ।
इप्पान अध्यक्ष गणेश कार्कीले नेपालको ऊर्जा क्षेत्रमा अथाह लगानीको अवसर भएको भन्दै यसमा बाह्य क्षेत्रबाट लगानी भित्र्याउनुपर्ने आवश्यकता औंल्याए । ‘सरकारले हालै १२ वर्षमा ३५ हजार मेगावाट विद्युत उत्पादनको रणनीति लिएको छ । नेपाली बैंकहरुले यी सबै आयोजनाको वित्तीय व्यवस्थापन गर्न सक्दैनन् ।’ कार्कीले भने, ‘सोही कारण ऊर्जा क्षेत्रमा अन्तर्राष्ट्रिय लगानी भित्र्याउन पहल सुरु गरेका छौं ।’
बुधवार इप्पानले डच बैंक एफएमओका प्रतिनिधिहरुसँग छलफल गरेको छ । उक्त छलफलमा इप्पान पदाधिकारीहरुले नेपालको ऊर्जा क्षेत्रमा खरबौं डलर लगानी आवश्यक भएको भन्दै सस्तो दरमा दीर्घकालीन ऋण उपलब्ध गराइदिन एफएमओसंग आग्रह गरे ।
एफएमओका प्रमुख कार्यकारी अधिकृत (सीईओ) माइकल जोंजेनीलले नेपालमा जलविद्युत प्रवर्द्धकले वातावरण, समाज र सरकार लाई केन्द्रमा राखेर काम गरेमा नेपालको ऊर्जा क्षेत्रमा एमएफओले ठूलो लगानी भित्र्याउन चाहेको बताए । २०१९ देखि इप्पानसँग सहकार्य गर्दै आएको स्मरण गराउँदै उनले आइएफसीका मापदण्ड र इएसजीलाई केन्द्रमा राखेर काम गर्न इप्पानले ठूलो भूमिका खेल्न सक्ने पनि विश्वास व्यक्त गरे ।
इप्पानका उपाध्यक्ष आशिष गर्गले नेपालको जलविद्युत उत्पादन र उपयोगको तथ्याङ्क प्रस्तुत गर्दै आयोजना विकासको विभिन्न चरणमा रहेका ५३ हजार ४३१ मेगावाट क्षमताका १ हजार २२४ आयोजनामा १ खर्ब १३ अर्ब डलर लगानी आवश्यक हुने बताए ।
उनले निर्माण भइसकेका करीब २ हजार ९०० मेगावाट क्षमताका १९१ आयोजनामा ५ अर्ब र निर्माणाधिन ७ हजार १०७ मेगावाट क्षमताका १२९ आयोजना ९४ हजार २१५ मेगावाट क्षमताका ६ आयोजना विदेश निर्यात हुने० मा ११ अर्ब डलर लगानी भएको बाहेक अझै ९५ अर्ब डलर लगानी थप आवश्यक पर्ने तथ्याङ्क प्रस्तुत गरे ।
पीपीए गरेर निर्माणको पर्खाइमा रहेका १२९ आयोजनालाई ५ अर्ब र अध्ययन सकेर पीपीएको पर्खाइमा रहेका ९ हजार ४०० मेगावाट क्षमताका १८५ आयोजनालाई २० अर्ब डलर लगानी तत्कालै आवश्यक भएको पनि उनको भनाइ छ ।
त्यस्तै सरकारले ऊर्जा दशक घोषणा गरेर थप ३० हजार मेगावाट विद्युत उत्पादनको रणनीति बनाइरहेकाले त्यसका लागि थप ६० अर्ब डलर लगानी आवश्यक पर्ने पनि गर्गले बताए ।
इप्पान उपाध्यक्ष उत्तम भ्लोन लामाले नेपालको बैंक मार्फत वा सोझै विद्युत आयोजनामा सस्तो ब्याजदरको दीर्घकालिन ऋण लगानी गर्न एफएमओलाई आग्रह गरे ।
एफएमओले एक्लै वा अन्य अन्तर्राष्ट्रिय बैंक तथा वित्तीय संस्थासंग मिलेर संयुक्त रुपमा भएपनि नेपालको ऊर्जा क्षेत्रमा लगानीको नेतृव लिन लामाले आग्रह गरे ।
एफएमओले नेपालमा एनएमबी बैंकमार्फत ५० मिलियन डलर (साढे ६ अर्ब रुपैयाँ भन्दा बढी) ऋण जलविद्युतमा लगानी गरेको छ । त्यस्तै ८२ मेगावाटको तल्लो सोलु जलविद्युत आयोजनामा जर्मन विकास बैंक र ओपेक फण्ड सहितका संस्थाबाट भएको ८ अर्ब ऋणको नेतृत्व एफएमओले नै गरेको छ भने २१६ मेगावाटको अपर त्रिशुली–१ जलविद्युत आयोजनामा २ अर्ब रुपैयाँ प्रत्यक्ष ऋण लगानी गरेको छ ।



