काठमाडौं । लगानी बोर्डले ४२ वटा आयोजनामा १२ खर्ब रुपैयाँ भन्दा बढीको लगानी स्वीकृत गरेको छ । स्थापनाको १२ वर्षमा बोर्डले ऊर्जा तथा अन्य पूर्वाधार क्षेत्रमा सो बराबरको लगानी भित्र्याएको हो । त्यसमध्ये २८ वटा उर्जा क्षेत्रका परियोजना रहेका छन् भने बाँकी उर्जा बाहेकका क्षेत्र रहेको बोर्डले जनाएको छ ।
शुक्रबार बोर्डले आफ्नो १२ औं वार्षिकोत्सव मनाएको छ । यस क्रममा बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्टले यो अवधिमा १२ खर्बको लगानी प्रतिवद्धतामध्ये ५ खर्ब २५ अर्ब रुपैयाँ बराबर परिचालन भएको जनाकारी दिए । उनले स्वीकृत भएका अन्य लगानी पनि छिटै भित्रिने विश्वास व्यक्त गरे ।
बोर्डले स्वीकृत गरेको लगानीबाट प्रतिदिन ६ हजार टन होङ्सी शिवम् सिमेन्ट र ३ हजार टन प्रतिदिन उत्पादन क्षमता रहेको हुवासिन सिमेन्ट परियोजना व्यावसायिक सञ्चालनमा आएका छन् । त्यस्तै, धरानमा वेस्ट टु इनर्जी परियोजना निर्माण सम्पन्न भई सञ्चालनमा आएको भट्टले जानकारी दिए ।
जलविद्युत् क्षेत्र अन्तर्गत बोर्डले स्वीकृत गरेको ९०० मेगावाटको अरुण–३ जलविद्युत् परियोजना, २१६ मेगावाटको माथिल्लो त्रिशुली लगायतका परियोजनाको पूर्वतयारी पूरा भइ निर्माणको क्रममा छन् भने ९०० मेगावाटको माथिल्लो कर्णाली जलविद्युत् परियोजना तथा ६६९ मेगावाटको तल्लो अरुण जलविद्युत् परियोजना विकास सम्झौता सम्पन्न भई वित्तीय व्यवस्थापनको क्रममा रहेका बोर्डले जनाएको छ ।
त्यस्तै, ४५० मेगावाटको सेती नदी–६, ७५० मेगावाटको पश्चिम सेती जलविद्युत् परियोजना अध्ययन तथा विकासका लागि एनएचपीसी लिमिटेडसँग समझदारी भई विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) को तयार हुँदैछ । ३२७ मेगावाटको अपर मर्स्याङ्दी–२ जलविद्युत् परियोजनाको डीपीआर मूल्यांकन भइरहेको तथा पीडीएको तयारी भइरहेको बोर्डले जनाएको छ ।
नेपालमा पहिलो पुस्ताको विदेशी लगानीकर्ताको रूपमा परिचित डाबर नेपालले उत्पादन वृद्धि र विविधीकरणका लागि ९ अर्ब ६८ करोड रुपैयाँ बराबरको पुनर्लगानी गर्न स्वीकृति पाएको छ । त्यस्तै, चीन नेपालमैत्री औद्योगिक पार्क परियोजनाको पीडीएका लागि वार्ता समिति गठन भइ वार्ता समितिले कार्य थालनी गरिसकेको बोर्डको भनाइ छ ।



