काठमाडौं । भारतीय कम्पनी सतलजले बनाएको अरुण तेस्रो जलविद्युत् आयोजनाको काम रोकिएको छ । अरुण तेस्रो प्रवेशमार्गको छ्याङकुटी–दिदिड पुखुवा सडकखण्डको मुआब्जा वितरणमा ढिलाई गरेको भन्दै स्थानीयले विद्युत गृहस्थल र सडक बन्द गरेका हुन् । जसको कारण निर्माण कार्य रोकिएको हो ।
आयोजनाको प्रवेशमार्गको २४ किलोमिटर क्षेत्रको मुआब्जा वितरण गर्न सरकारले विभिन्न बाहाना बनाउँदै आलटाल गरेको आरोप संघर्ष समितिका संयोजक जनीकुमार राईले बताए । समयमा मुआब्जा नदिएका कारण शनिबार देखि प्रवेशमार्गका जग्गाधनीहरुले मुआब्जा माग गर्दै प्रदर्शन गरेका हुन् ।
स्थानीयहरु ‘राष्ट्रिय गौरवको आयोजनाले स्थानीयवासीलाई सुकुमबासी बनाउन पाइँदैन’, ‘सरकार कहाँ छौ ? हामी पालमुनिको बासमा छौं’ जस्ता नारासहितको ब्यानर लिएर प्रदर्शनी गरिरहेका छन् ।

जिल्ला प्रशासन कार्यालय संखुवासभामा गठित छुट मुआब्जा निर्धारण समितिले गत वैशाख २६ गते छयाङकुटी–दिदिड सडकखण्डको प्रति रोपनी ११ लाख ७५ हजार दिने निर्णय गरेको थियो ।



