काठमाडौं । लगातारको वर्षाका कारण पहिरो गएर मदन भण्डारी लोकमार्ग अवरुद्ध भएको छ । तीन दिनदेखि परेको पानीले उदयपुरखण्डको उदयपुरगढी गाउँपालिका ५ मौवासीमा पहिरो जाँदा आइतबार बिहानैदेखि सडक अवरुद्ध भएको हो ।
अविरल वर्षाका कारण राजमार्ग खोल्ने प्रयास गरिए पनि असफल भएको प्रहरी उपरीक्षक ज्ञानेन्द्र फुयाँलले बताए ।
पहिरोले करिब एक सय मिटर सडक पुरिएपछि राजमार्गमा सवारी आवागमन सुचारु हुन केही समय लाग्ने प्रहरीले जनाएको छ ।
पश्चिमबाट पूर्वतर्फ जाने लामो दूरीका सवारीसाधनलाई कटारीबाट अर्को रुटमा डाइभर्ट गरिएको छ भने विपरित दिशाबाट आउने सवारीलाई गाईघाटबाट डाइभर्ट गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय गाईघाटले जनाएको छ ।
पहिरो पन्छाउन डोजर ल्याइसकिएको र वर्षा रोकिएपछि पहिरो हटाउने काम सुरु हुने प्रहरीले जनाएको छ ।
पहिरो प्रभावित क्षेत्र कटारीबाट करिब २२ किलोमिटर पूर्व र जिल्ला सदरमुकामबाट करिब ३० किलोमिटर पश्चिममा अवस्थित छ ।



