images
images

म्याग्दीमा २ सय ३८ मेगावाटका १३ जलविद्युत् आयोजना, कुनकाे क्षमता कति ?


  • 375
    SHARES
  • २०८० श्रावण १७ गते बुधबार

    म्याग्दीमा २ सय ३८ मेगावाटका १३ जलविद्युत् आयोजना,  कुनकाे क्षमता कति ?

    काठमाडौं । म्याग्दीको पश्चिमी क्षेत्रमा २ सय ३८ दशमलव २३ मेगावाट क्षमताका १३ जलविद्युत् आयोजना निर्माणाधीन छन् । विद्युत् प्राधिकरणले निर्माणाधीन जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् केन्द्रीय ग्रिडमा जोड्नका लागि प्रसारण लाइन र सवस्टेशन बनाउन थालेपछि निर्माणाधीन आयोजनाको कामले तीव्रता पाएका हुन् ।

    प्राधिकरणले मालिका गाउँपालिका–७ मा एक सय ३२ केभी क्षमताको सवस्टेशन र त्यहाँदेखि राहुघाट जोड्ने प्रसारण लाइन निर्माण अन्तिम चरणमा पुगेको जनाएको छ । सन् २०२४ भित्र डाँडाखेत सवस्टेशन र प्रसारण लाइन निर्माण सम्पन्न गर्ने तयारीसहित काम थालिएको डाँडाखेत–राहुघाट प्रसारण लाइन आयोजनाका प्रमुख रोशन अग्रवालले बताए । उनका अनुसार उक्त आयोजनाले मालिका गाउँपालिकाको शिवरात्रि खोलादेखि भारवाङ, कल्लेनी, छहरी, खारा, खाम्ला हुँदै नाउरासम्म १० किलोमिटरभन्दा बढी सडक मार्ग खोलेको छ । 

    “शिवरात्री खोलाको पहरामा अड्किएको सडक धवलागिरि गाउँपालिकाले बजेट विनियोजन गरेपछि मार्ग खोलिएको हो”, अग्रवालले भने, “हाइड्रो इम्पायर प्राली काठमाडौँले धवलागिरि–४ मा ३७ मेगावाट क्षमताको अपर म्याग्दी जलविद्युत् आयोजना निर्माणको अनुमति लिएको छ ।”

    आयोजनाका अध्यक्ष जीतबहादुर घर्तीले पहुँचमार्ग निर्माण सकेर सुरुङ, विद्युतगृहको काम थालिएको बताए । उनका अनुसार सिन्कोस र म्याग्दी खोलाको दोभानभन्दा १ सय ३० मिटर तल म्याग्दी खोलाको दायाँ किनारमा आयोजनाको बाँध प्रस्ताव गरिएको छ । धौलागिरि हिमालको फेदि भएर बग्ने म्याग्दी नदीबाट विद्युत् उत्पादनका लागि विद्युत् विकास विभागबाट तीन आयोजनाले निर्माण अनुमति पाएका छन् ।

    त्रिपन्न मेगावाट क्षमताको अपर म्याग्दी पहिलो, १४.७० मेगावाटको मुदीखोला र ५७.३० मेगावाट क्षमताको म्याग्दीखोला जलविद्युत् आयोजनाले निर्माणको अनुमति लिएका छन् । अपर म्याग्दी जलविद्युत् आयोजनाले छहरीमा साइट कार्यालयको भवन बनाएको छ । धवलागिरि–४ मा २३.७० मेगावाट क्षमताको म्याग्दीखोला ‘ए’ र धवलागिरि–१ गुर्जामा १५ मेगावाट क्षमताको धौलाखोला जलविद्युत् आयोजना निर्माणाधीन छन् ।

    त्यस्तै, एभरेष्ट इनर्जी एण्ड इन्फ्रास्ट्रक्चर प्रालिले धवलागिरि–४ मा १४.७० मेगावाट क्षमताको मुदिखोला, सुसमित हाइड्रोपावर लिमिटेडले धवलागिरिमा २० मेगावाट क्षमताको कुनबान खोला जलविद्युत् आयोजना निर्माणका लागि अनुमति लिएका छन् । 

    त्यस्तै, छ दशमलव पाँच मेगावाटको दरखोला, धवलागिरि–४ मा ३.४५ मेगावाटको सिम्कोश, धवलागिरि–४ मुदीमा १२.७३ मेगावाटको अपर मुदी, ९.५ मेगावाटको म्याग्दीखोला ‘बि’ र ४.६ मेगावाटको तिरिजा खोला जलविद्युत् आयोजनाका लागि सर्वेक्षणको अनुमति लिएका छन् ।

    जिल्लामा जलविद्युत् आयोजना भित्रिएसँगै सडक सञ्जाल विस्तारका साथै भौतिक पूर्वाधार निर्माणले गति लिएको मालिका गाउँपालिकाका अध्यक्ष बेगप्रसाद गर्बुजाले बताए । आयोजनाले बनाएका पूर्वाधारबाट स्थानीयले रोजगारी पाउने, लगानी गर्ने वातावरण बन्ने, सुविधा उपभोग गर्न पाउनुका साथै दीर्घकालीन हिसाबले पालिकालाई विद्युत्बाट आम्दानीसमेत हुने उनको भनाइ थियो ।


    images
    images

    Logo