काठमाडौं । एसीसी इमर्जिङ टिम्स एसिया कपको उपाधि पाकिस्तानले जितेको छ । भारतको ‘ए’ टिमलाई पराजित गर्दै पाकिस्तानको ‘ए’ टिमले उपाधि जितेको हो।
आइतबार श्रीलंकामा भएको फाइनलमा पाकिस्तानले भारतलाई एक सय २८ रनको फराकिलो अन्तरले पराजित गर्दै उपाधि कब्जा गरेको हो।
पाकिस्तानले दिएको ३५३ रन लक्ष्य पछ्याएको भारत ४० ओभरमै २४० रनमा अलआउट भएको थियो।भारतका लागि ओपनिङ ब्याट्सम्यान अभिषेक शर्माले ६१ रन र अर्का ओपनर साइ सुदर्शन २९ रन जोडेका थिए । कप्तान यश धुलले ३९ रन बनाएका थिए ।
बलिङमा पाकिस्तानका सुफियान मुकिमले ३ विकेट लिए। अर्सद इकबाल, मेहरम मुम्ताज र मोहमद वासिमले समान २-२ विकेट लिए। त्यसअघि भारतले टस जितेर फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको पाकिस्तानले ८ विकेटको क्षतिमा ३५२ उच्च रनको योगफल तयार गरेको थियो।
पाकिस्तानका लागि तयब तहिरले शतक प्रहार गरे। उनले ७१ बलमा १२ चौका र ४ छक्काको मद्दतमा १०८ रन जोडेका थिए । ओपनरद्वय सइम अयुबले ५९ रन र सहिबजाडा फरहानले ६५ रनको योगदान दिए। बलिङमा भारतका रविबद्धन र रियान परागले २(२ विकेट लिए।
यसअघि समूह चरणमा भारतले पाकिस्तानमाथि जित निकालेको थियो। समूह ‘ए’ मा नेपालले पनि प्रतिस्पर्धा गरेको थियो। नेपालले भारत र पाकिस्तान दुवै टिमसँग पराजय भोगेको थियो।
सेमिफाइनलमा श्रीलंका ‘ए’लाई ६० रनले पाखा लगाउँदै पकिस्तान ए’ ले फाइनलमा स्थान पक्का गरेको थियो । बंगलादेश ए’लाई ५१ रनले पराजित गर्दै भारत ए’ले पाकिस्तानसंगको भेट पक्का गरेको थियो ।



