काठमाडौं । शेयर धितोमा कायम रहेको जोखिम भार घटाइने भएको छ । हाल १५० प्रतिशत रहेको उक्त भारलाई पुनरावलोकन गर्नेगरी राष्ट्र बैंकले मौद्रिक नीतिमा व्यवस्था गरेको हो ।
उक्त भार घटेर १०० प्रतिशत कायम गर्न लागिएको छ । यद्यपि मौद्रिक नीति कार्यान्वयनका लागि एकीकृत निर्देशन संशोधनको निर्णयपछि मात्रै यसबारे राष्ट्र बैंकले आधिकारिक रुपमा निर्णय दिन्छ ।
यस्तो जोखिम भार घट्दा बैंकहरुले शेयर धितोमा प्रवाहित कर्जामा राख्नुपर्ने अतिरिक्त प्रोभिजनिङ घट्नेछ । त्यस्तै, जोखिम भार घट्दा सीडी रेसियोमा समेत सकारात्मक प्रभाव पर्नेछ । यसले बैंकहरु थप कर्जा प्रवाह गर्न सक्षम हुन्छन् ।
अहिले बैंकिङ प्रणालीमा अधिक तरलताको अवस्था भइ कर्जा प्रवाह नै हुन नसकेको अवस्थामा यसले बैंकिङ प्रणालीमा प्रत्यक्ष रुपमा प्रभाव पार्दैन तर नियामक निकाय शेयर बजारप्रति उदार भएको सन्देशले दोस्रो बजारमा भने सकारात्मक असर गर्न सक्छ ।
शेयर बजार मात्रै नभएर राष्ट्र बैंकले घरजग्गा तथा सवारीसाधन खरिदमा समेत यस्तो जोखिम भार पुनरावलोकन गर्ने जनाएको छ । यसले घरजग्गाको कारोबार तथा सवारी साधन तथा मेसिनरीको कारोबार बढ्न सक्ने देखिन्छ ।



