काठमाडौं । आज काठमाडौं र ललितपुरका विभिन्न स्थानमा ८ घण्टा विद्युत आपुर्ति बन्द हुने भएको छ । शुक्रबार नेपाल विद्युत प्राधिकरणले सूचना जारी गर्दै शनिबार अथात् आज विद्युत प्राधिकरणको टेकु सबस्टेसनबाट आपूर्ति हुने विजुली ६ देखि ८ घण्टासम्म बन्द हुने जनाएको हो ।
प्राधिकरणका अनुसार ६ गते बिहान ८ः३० बजेदेखि दिउँसो ४ः३० बजेसम्म विद्युत आपूर्ति बन्द हुनेछ । बागमती फिडर अन्तर्गत सानेपा राममन्दी, गुसिंगाल, एडभान्स कलेज, अमरावती सानेपामा मोड, रेडियन्ट स्कुल क्षेत्रमा बिजुली आपूर्ति बन्द हुनेसूचनामा उल्लेख गरिएको छ ।
त्यस्तै, पुल्चोक फिडर अन्तर्गत बल्खु, हेल्थपोस्ट, झम्सीखेल, पुल्चोक प्रधानसेनापति निवास, ठाडोढुंगा क्षेत्र र चमती फिडर अन्तर्गत ज्ञान तीर्थ मार्ग, कालीमाटी सालिक चोक, छाउनी, डल्लु, बिजेश्वरी, स्वयम्भु, चमती, किमडोल र बारुद खाना क्षेत्रमा पनि बन्द हुने प्राधिकरणले जनाएको छ ।
कीर्तिपुर फिडर अन्तर्गत बल्खु, खसीबजार, त्रिभुवन विश्वविद्यालय, चोभार, टौदह र ट्याङ्लाफाँटको केही भागमा पनि बिजुली आपूर्ति बन्द हुनेछ ।
त्यसैगरी, त्रिपुरेश्वर फिडर अन्तर्गत टेकुदेखि पचली भैरव, उद्योग वाणिज्य संघ हुँदै सुकुम्बासी वस्ती, वर्ल्ड ट्रेड सेन्टर र थापाथली स्वीचिङ अन्तर्गत त्रिपुरेश्वर चोक, आशा अस्पताल, रंगशाला, नर्भिक अस्पताल, प्रसूति गृह हुँदै बबरमहलसम्म, सानेपा, कुपण्डोल हिमालय होटल, स्थानीय विकास मन्त्रालय र पुल्चोकमा पनि विजुली बन्द हुनेछ ।
यस्तै भैंसीपाटी फिडर अन्तर्गत महतो मार्ग, भैंसेपाटी आवास, भैंसेपाटी चोक, एकल डाँडा र क्षेत्रपाटी फिडर अन्तर्गत विष्णुमती खोला किनार हुँदै पुष्पलाल पार्क, ढल्कु चोकदेखि क्षेत्रपाटीसम्म बिजुली आपूर्ति बन्द हुने प्राधिकरणले जनाएको छ ।
प्राधिकरणले टेकु सबस्टेशन स्तरोन्नती गरी टेकु–स्युचाटार ६६ केभीएको लाईन १ सय ३२ केभिएमा चार्ज गर्नका लागि उक्त क्षेत्रअन्तर्गतका स्थानमा विद्युत आपुर्ति बन्द गर्नुपर्ने जनाएको छ।




