सुनसरी । सुनसरीमा गोली हानेर एक युवकको हत्या गरिएको छ । धरान–तरहरा सडक खण्डको सेउती पुलमा गोली प्रहार गरी विराटनगरका रोहित चौधरीको हत्या गरिएको हो । लुटेरा समूहको गोली प्रहारबाट घाइते भएका चौधरीको मृत्यु भएको सुनसरीका प्रहरी प्रमुख प्रभूप्रसाद ढकालले बताए ।
गोली लागेर सख्त घाइते भएका चौधरीलाई उपचारका लागि बीपी प्रतिष्ठान लगिएको थियो । प्रतिष्ठानको आकस्मिक कक्षमा उपचारको क्रममा चौधरीको मृत्यु भएको बताइएको छ ।
धनकुटाको मूलघाटबाट विराटनगर आउँदै गरेका विराटनगर–५ का २८ वर्षीय चौधरीमाथि अपराह्न हतियारधारी समूहले लुटपाट गरेको थियो । गोली प्रहार गरी लुटपाट गरिएका चौधरीको साथबाट मोबाइल र पैसा लुटेर लुटेरा फरार भएको बताइएको छ । उनीहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ ।