images
images

नर्सिङ, एचए र फार्मेसीको शुल्क पुरानै कायम


  • 394
    SHARES
  • २०८० श्रावण ५ गते शुक्रबार

    नर्सिङ, एचए र फार्मेसीको शुल्क पुरानै कायम

    काठमाडौँ । नर्सिङ, एचए र फार्मेसी अध्ययको शुल्क पुरानै कायम हुने भएको छ । चौतर्फी बिरोध भएपछि प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी)ले शुल्क वृद्धिको निर्णय फिर्ता लिएको हो । गत साता नर्सिङ, एचए र फार्मेसीको अध्ययन शुल्क वृद्धि गरिएकोमा सो निर्णय हाल स्थगित गरिएको सिटिइभिटीले जनाएको छ ।

    विभिन्न विद्यार्थी संगठनका अलवा चिकित्सा शिक्षा सुधारका अभियन्ता प्राध्यापक डा गोबिन्द केसीले समेत शुल्क वृद्धिको निर्णय फिर्ता लिन आग्रह गर्दै फिर्ता नलिए आन्दोलन गर्ने धम्की दिएका थिए । शुल्क बृद्वीको बिरोध बढेसंगै शिक्षामन्त्री अशोककुमार राईले समेत शुल्क वृद्धिको निर्णय पुनःविचार गर्न सीटीइभीटीलाई निर्देशन दिएका थिए । 

    शुल्क समायोजन भन्दै नर्सिङको शुल्क १ लाख ५० हजारले वृद्धि गरिएको थियो भने फार्मेसीको ८६ हजार ५ सय रुपैयाँ बढाइको थियो । शुल्क बढेसंगै नर्सिङ पढ्न ६ लाख २४ हजार २ सय ३० रुपैयाँ शुल्क पुगेको थियो ।यसअघि नर्सिङको शुल्क ४ लाख ७५ हजार थियो ।

    १० हजारभन्दा धेरै विद्यार्थीले नर्सिङ अध्ययन गर्न आवेदन दिने गरेपनि पछिल्लो समय एक सय बेडको अस्पताल नभएका कलेज बन्द गरिएका कारण सिट संख्या विगत ३ वर्षदेखि घटेको थियो ।

    त्यस्तै यसअघि ४ लाख ४ हजार शुल्क रहेको एचए पढ्न ५ लाख २३ हजार ८ सय २० रुपैयाँ शुल्क तोकिएको थियो । एचएको शुल्क १ लाख १९ हजारले वृद्धि भएको थियो । फार्मेसीको नयाँ शुल्क ४ लाख २३ हजार ६ सय ६० तोकिएको थियो । यसअघि सो पढाईका लागि ३ लाख ३७ हजार शुल्क तिर्नुपर्ने थियो । 

    निजी सम्बन्धनमा सञ्चालित शिक्षणसंस्थामा २०७१/२०७२ पछि पहिलो पटक शुल्क समायोजन गरिएको सीटीईभीटीको भनाइ थियो । तोकिएको शुल्कमध्ये ५० प्रतिशत रकम पहिलो किस्ता र २५/२५ प्रतिशत रकम दोस्रो र तेस्रो किस्तामा बुझाउनु पर्ने व्यवस्था सिटिइभिटीले गरेको छ ।

    सीटीईभीटीले २०७८ पुस ६ गतेको शिक्षामन्त्री स्तरीय निर्णयको आधारमा शुल्क वृद्धि गरेको जनाएको थियो । शैक्षिकसत्र २०८०/८१ मा नयाँ भर्ना हुने विद्यार्थीलाई वृद्धि भएको शुल्क लागू गर्ने तयारी सिटिइभिटीको थियो ।


    images
    images

    Logo