images
images

नयाँ उद्योग दर्ता घट्यो, गत वर्षमा १ हजार ८९ मात्र दर्ता हुँदा १ करोड बढी राजस्व सङ्कलन


  • 362
    SHARES
  • २०८० श्रावण ५ गते शुक्रबार

    नयाँ उद्योग दर्ता घट्यो, गत वर्षमा १ हजार ८९ मात्र दर्ता हुँदा १ करोड बढी राजस्व सङ्कलन

    काठमाडौं । पर्सामा आर्थिक वर्ष २०७९/८० मा नयाँ उद्योग दर्तामा कमी आएको छ । घरेलु तथा साना उद्योग कार्यालयका अनुसार आर्थिक बर्ष २०७९/८० मा एक हजार ८९ नयाँ उद्योग दर्ता भएको छ । जबकी आर्थिक बर्ष २०७८/८९ मा १ हजार ४ सय ८० उद्योग दर्ता भएको थियो । 

    आर्थिक बर्ष २०७९/८० मा नयाँ उद्योग दर्तामा कमी आउँदा उद्योगको लगतकट्टा गराउनेको सङ्ख्या भने बढेको छ । सो कार्यालयका अनुसार आर्थिक बर्ष २०७९/८० मा १ सय ७७ वटा उद्योगको लगतकट्टा गरिएको छ भने अघिल्लो आर्थिक बर्ष २०७८/७९ मा १ सय ५२ उद्योगको लगतकट्टा भएको थियो ।

    विश्वव्यापीरूपमा देखिएको आर्थिक तरलता, बैंक तथा वित्तीय संस्थाबाट ऋण लगानी नहुनु, पुँजीको अभावलगायतका कारणले नयाँ उद्योग दर्तामा कमी आएको घरेलु तथा साना उद्योग कार्यालय पर्साका प्रमुख धनञ्जयकुमार सिंहले बताए । 

    आर्थिक बर्ष २०७९/८० मा १ हजार २ सय ७५ उद्योगको नवीकरण, १ सय ६५ वटाको पुँजी वृद्धि, ३३ को ठाउँसारी, ८४ को नामसारी गरिएको सो कार्यालय जनाएको छ । ती शीर्षकबाट आर्थिक बर्ष २०७९/८० मा १ करोड ६ लाख ३९ हजार २ सय ५० रुपैयाँ राजस्व सङ्कलन भएको प्रमुख सिंहले जानकारी दिए। 

    उक्त आर्थिक बर्षमा ६ सय ५४ पुरुष र ४ सय ५० महिला गरी १ हजार १ सय ४ उद्यमी थपिएका छन् भने ३ हजार २ सय ४७ पुरुष र १ हजार २ सय १३ महिला गरी ४ हजार ४ सय ६० जनाले रोजगारी पाएको प्रमुख सिंहको भनाइ छ । आर्थिक बर्ष २०७९/८० मा उद्यमी सिर्जना तथा सीप विकास, स्केलअप र भगत सर्वजित तालिम कार्यक्रमअन्तर्गत ३ सय ६२ पुरुष र ९८ महिला गरी ४ सय ६० जनालाई सीपमूलक तालिम दिइएको प्रमुख सिंहले बताए । 

    यससँगै पर्सा जिल्लामा पछिल्लो छ वर्षको अवधिमा ७ हजार २ नयाँ उद्योग थपिएका छन् । गत आर्थिक बर्ष २०७४/७५ देखि आर्थिक बर्ष २०७९/८० सम्ममा सेवामूलक उद्योग, कृषि तथा वन्यजन्य, उत्पादन उद्योग र पर्यटन गरी सात हजार दुई नयाँ उद्योग दर्ता भएको घरेलु तथा साना उद्योग कार्यालय वीरगन्ज पर्साले जनाएको छ ।

    गत आर्थिक बर्ष २०७४/७५ देखि आर्थिक बर्ष २०७९/८० सम्मको अवधिमा नयाँ उद्योग दर्ता, उद्योगको नवीरकण र उद्योगको लगतकट्टालगायतका शीर्षकबाट ६ करोड ९७ लाख ९२ हजार ७ सय ८० राजस्व सङ्कलन भएको कार्यालय प्रमुख सिंहले बताए। 


    images
    images

    Logo