images
images

नेपाल, भारत र बंगलादेशबीचको ऊर्जा सम्झौता अन्तिम चरणमा


  • 525
    SHARES
  • २०८० आषाढ १९ गते मंगलबार

    नेपाल, भारत र बंगलादेशबीचको ऊर्जा सम्झौता अन्तिम चरणमा

    नेपाल, बंगलादेश र भारत सरकारबीच छलफल भइरहेको त्रिपक्षीय ऊर्जा सम्झौतामा छिट्टै हस्ताक्षर हुने अपेक्षा गरिएको छ । सुरुवाती चरणमा नेपालमा उत्पादन भएको करिब ४० मेगावाट बिजुली भारत हुँदै बंगलादेशसम्म पुर्याउने लक्ष्य नेपाल विद्युत् प्राधिकरण, बंगलादेश पावर डेभलपमेन्ट बोर्ड र भारतको एनटीपीसी विद्युत् व्यापार निगम लिमिटेड (एनभीभीएन)को साझेदारीमा पुरा हुने भएको छ । 

    प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले बंगलादेशसँग विद्युत बिक्री सम्झौताको टेम्प्लेटमा वार्ताको अन्तिम चरणमा पुगेको जानकारी दिए । महसुल निर्धारण भइसकेपछि विद्युत् निकासी सुरु हुनेछ ।

    नेपाल र भारत सरकारले आफ्ना छिमेकीसँग सीमापार विद्युत् व्यापारका लागि अधिकार दिएको नोडल संस्था एनभीभीएन बीचको सम्झौताको दोस्रो मस्यौदा मूल्याङ्कनका लागि बंगलादेश पठाइएको प्राधिकरणका पावर ट्रेडिङ निर्देशक प्रबल अधिकारीले बताए । बंगलादेशले पहिलो मस्यौदामा प्राविधिक र व्यापारिक समस्याको सन्दर्भमा सुधारका लागि सुझाव दिएको थियो।

    बंगलादेशमा बिजुली निर्यातको महसुल नेपालले भारतको पावर एक्सचेन्ज बजारबाट प्राप्त गरिरहेको औसत मूल्यको दायरा वरपर हुने उनले बताए। प्रसारण शुल्कको सन्दर्भमा, यो भारतको खुला पहुँच नियमहरू अनुरूप, भारतका पावर व्यापारीहरूले लिने शुल्क बराबर हुनेछ।

    बंगलादेशले नेपालसँग नवीकरणको विकल्पसहित पाँच वर्षे सम्झौता प्रस्ताव गरेको छ ।

    नेपालबाट बंगलादेशमा विद्युत् निर्यात गर्ने विषयमा नेपाल र बंगलादेश र भारत र नेपालबीच छुट्टाछुट्टै सैद्धान्तिक समझदारी भएको छ ।

    सन् २०२३ को मे महिनामा बंगलादेशको पटुआखालीमा भएको ऊर्जा सहयोगसम्बन्धी सचिवस्तरीय संयुक्त संचालन समितिको पाँचौं बैठकमा नेपाल र बंगलादेशले चाँडोभन्दा चाँडो विद्युत् व्यापार सुरु गर्न सहमति जनाएका थिए ।

    नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मे ३१ देखि ३ जुनसम्म भारत भ्रमण गरेका थिए । यस भ्रमणका क्रममा भारतले भारतको विद्यमान प्रसारण पूर्वाधारमार्फत नेपालदेखि बंगलादेशसम्म ४० मेगावाटसम्मको पहिलो त्रिपक्षीय विद्युत् कारोवारलाई सहजीकरण गर्न सहमत भएको थियो ।


    images
    images

    Logo