भक्तपुर । चाँगुनारायण नगरपालिकाले आगामी आर्थिक वर्ष २०८०/८१ को लागि १ अर्ब ६९ करोडको बजेट ल्याएको छ । नगरपालिकाका नगरप्रमुख जीवन खत्रीले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गरेका हुन् ।
बजेटमा चालु खर्चतर्फ ८१ करोड ७३ लाख र पुँजीगत खर्चतर्फ ८९ करोड ३२ लाख ४५ हजार विनियोजन गरिएको छ । शुक्रवार शुरु भएको १३ औं नगरसभामा नगरप्रमुख जीवन खत्रीले आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम सार्वजनिक गरेका हुन् । त्यसैगरी उपप्रमुख रमेश बुढाथोकीले आगामी आर्थिक बर्षको बजेट सार्वजनिक गरेका छन् ।
नीति तथा कार्यक्रम प्रस्तुत गर्दै नगर प्रमुख खत्रीले दिगो विकासका लक्ष्यहरु प्राप्त हुने योजना तथा कार्यक्रमहरुलाई प्राथमिकताका साथ कार्यान्वयन गरिने बताए । चाँगुनारायण नगरपालिकाको प्रथम पञ्चवर्षिय आवधिक योजना तथा मध्यकालिन खर्च संरचनाले तय गरेका लक्ष्य प्राप्तीलाई ध्यानमा राखी प्राथमिकताको आधारमा क्रमशः कार्यान्वयन गर्ने नीति लिइने नगरप्रमुख खत्रीको भनाइ थियो ।
पुर्वाधार विकासलाई दिगो, नतिजामुखी, योजनावद्ध, वातावरणमैत्री एवम् गुणस्तरीय बनाईने नगर प्रमुख खत्रीले बताए । राजश्व प्राप्तिका थप क्षेत्रहरुको पहिचान गर्नुका साथै राजश्व प्रशासनलाई थप सुदृढ बनाउँदै नगरपालिकाबाट उपलब्ध हुने सेवालाई छिटो छरितो र प्रभावकारी ढंगले प्रदान गरिने बताए ।
सेवाग्राहीले नगरपालिकालाई तिर्नुपर्ने सम्पत्तिकर, भुमिकर, मालपोत करसँग आवद्ध गर्ने नीति लिइने बताउदै नगर प्रमुख खत्रीले आगामी बर्ष प्रत्येक वडामा गौरवका आयोजना पहिचान गर्न पुर्व–सम्भाव्यता अध्ययन गर्ने नीति लिइने बताए । शिक्षा समितिबाट कार्यविधि निर्माण गरी विद्यालयको कक्षा थपघट र मर्ज गर्ने नीति समेत लिइने नीति तथा कार्यक्रममा उल्लेख छ ।

नगर क्षेत्रमा कम्तीमा एक वटा बहुप्राविधिक शिक्षालय-पोलिटेक्निक इन्स्टिच्युट स्थापनाका लागि आवश्यक पुर्वाधार विकासको कार्य अघि बढाईने नगरप्रमुख खत्रीले बताए । कुल १९० बुँदे नीति तथा कार्यक्रममा मेयर उद्यमशिलता कार्यक्रम, उपप्रमुखसँग महिला, महिला उद्यमशिलता, वचत खाता छोरीको, सुरक्षा जीवन भरीको, शैक्षिक गुणस्तर अभिबृद्धिका लागि शिक्षक सहायता कार्यक्रमलगायत केही पुराना कार्यक्रमलाई निरन्तरता दिइएको छ ।
खानेपानीका मुहानको संरक्षण, पौराणिक ढुंगेधारा, कुवा, पोखरी, पँधेरा संरक्षण गर्ने, एक घर एक धारा सुनिश्चित गर्न संघ, प्रदेश तथा सहयोगी संस्थाहरुसँग थप समन्वय गर्ने, पर्यटन विकास र नगरपालिकाको आर्थिक स्रोतको विकासका लागि नगरकोट भ्रमण वर्ष २०८२/८३ को पुर्व तयारीका लागि नेपाल सरकार र प्रदेश सरकारसँगको समन्वयमा कार्यक्रम सञ्चालन गरिने नगर प्रमुख खत्रीले बताए ।
त्यसैगरी चाँगुनारायण नगरपालिकाले कृषि सम्बन्धी बिमा र कर्जा सहजीकरणका लागि आवश्यक पहल गर्ने, ‘एक घर एक करेसाबारी, पकेट क्षेत्रमा व्यवसायिक तरकारी’ नारासहित तरकारी पकेट क्षेत्रमा उत्पादन बृद्धिका लागि सहुलियत कार्यक्रम सञ्चालन गर्ने भएको छ ।
चालु शैक्षिक सत्रमा सामुदायिक विद्यालयमा अंग्रेजी माध्यममाबाट शिक्षण सिकाई क्रियाकलाप थप प्रभावकारी रुपमा सञ्चालन गर्ने, चाँगुनारायण नगरपालिका नगर अस्पतालमा विशेषज्ञ सेवासहितको स्वास्थ्य उपचारका लागि आवश्यक जनशक्ति लगायत उपकरणको क्रमशः व्यवस्थापन गर्ने नीति लिएको प्रमख खत्रीले बताए।
७० वर्ष नाघेका ज्येष्ठ नागरिकलाई घरमै निःशुल्क स्वास्थ्य परीक्षणको व्यवस्था गर्ने, सुत्केरी महिलालाई निःशुल्क एम्बुलेन्स सेवा र सुत्केरी स्याहार खर्चको व्यवस्था गर्ने, मेरो स्वास्थ्य मेरो जिम्मेवारी भन्ने सन्देशका साथ नागरिक आरोग्य कार्यक्रमको प्रवद्र्धनका साथै विद्यालय आयुर्वेद तथा योग शिक्षा कार्यक्रमलाई निरन्तरता दिईने नीति कार्यक्रममा उल्लेख छ ।
हाम्रो चाँगुनारायण, सफा चाँगुनारायण प्रवद्र्धन कार्यक्रम अन्तर्गत फोहोरमैलालाई स्रोतमै वर्गिकरण गरी न्यूनिकरण, पुनः प्रयोग र पुनः प्रशोधन गर्ने विधिलाई प्रोत्साहन गर्ने, हाम्रो रहर, सफा रहरको नारासहित फोहरमैलालाई उचित स्थानमा व्यवस्थापन गर्न आवश्यक कार्यको थालनी गर्ने नीति कार्यक्रममा उल्लेख छ । कार्यक्रममा नीजि क्षेत्रको समन्वयमा फोहोरमैला व्यवस्थापन गर्ने नीति लिएको प्रमुख खत्रीले बताए।
मेरो खल्ती मेरो पहिलो डस्टविन भन्ने सचेतनामूलक अभियान सञ्चालन गर्न विद्यालयमा इको क्लव गठन, पुनर्गठनको नीति अवलम्वन गर्ने भएको छ । भूमिहिन दलित, सुकुम्बासी तथा अव्यस्थित बसोबास सम्बन्धी समस्या समाधानका लागि आवश्यक समन्वय र सहकार्य गर्ने छ ।

जनशक्तिलाई समयानुकुल सक्षम बनाउन क्षमता विकासका कार्यक्रमहरु सञ्चालन गर्ने र स्वेच्छिक अवकाशलाई उत्प्रेरित गर्न कर्मचारीलाई सुनौलो हस्तमिलनको व्यवस्था गर्ने नगरप्रमख खत्रीले बताए । नगर कार्यपालिकाको कार्यालय परिसर, नगर क्षेत्रभित्रका मुख्य पर्यटकीय गन्तव्यमा क्रमशः फ्रि वाइफाइ सुविधा दिइने र स्थानीय सञ्चारमाध्यमलाई कार्यविधि बनाई सञ्चालन र नियमनको व्यवस्था मिलाइने नीति कार्यक्रममा उल्लेख छ ।
यसैबीच सभाले नीति तथा कार्यक्रममाथि दफावार छलफल गरी सर्वसम्मत पारित गरेको छ । बैठकमा नगर उपप्रमुख रमेश बुढाथोकीले आगामी आर्थिक वर्ष २०८०/८१ को लागि १ अर्ब ६१ करोड ६ लाख एक हजारको बजेट प्रस्ताव गरेका छन् ।
उपप्रमुख बुढाथोकीका अनुसार चालु खर्चतर्फ ८१ करोड ७३ लाख ५६ हजार र पुँजीगत खर्चतर्फ ८९ करोड ३२ लाख ४५ हजार विनियोजन गरिएको छ । बजेटमा नगरस्तरीय गौरवका योजनाका लागि ४ करोड, युवा लक्षित कार्यक्रम र खेलकुदका लागि ५ करोड, विपन्न सहयोग कार्यक्रमका लागि २० लाख, वडा कार्यालयमा भौतिक पुर्वाधार व्यवस्थापन गर्न २ करोड २० लाख, मेयर उद्यमशिलता कार्यक्रमका लागि १ करोड, विपन्न तथा ज्येष्ठ नागरिकको स्वास्थ्य बिमालगायतका लागि १ करोड, खानेपानीको आवश्यकता सम्बोधनका लागि ६ करोड ५३ लाख, यातायात पुर्वाधारका लागि ५० करोड ४५ लाख, विश्व सम्पदामा सुचीकृत चाँगुनारायण मन्दिर लगायत नगरका मठमन्दिरसंरक्षणका लागि ६ करोड १७ लाख ५० हजार, विनियोजन गरिएको छ ।
यसैगरी वचत खाता छोरीको लगायतका कार्यक्रमका लागि ३५ लाख, कृषिमा रोजगारी प्रवद्र्धन, कृषि पेशालाई सम्मानजनक बनाउन, आधुनिकीकरण र व्यवसायिकीकरणका लागि ९२ लाख ५० हजार, विपद व्यवस्थापनका लागि ३ करोड रुपैंया विनियोजन गरिएको उपप्रमुख बुढाथोकीले बताए ।



