काठमाडौं महानगरपालिकाका प्रमुख तथा मेयर बालेन्द्र शाह (बालेन) ले ५ हजार जना बढीलाई रोजगारी दिने घोषणा गरेका छन् । मेयर बालेनले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै यस्तो घोषणा गरेका हुन् ।
नीति तथा कार्यक्रम सार्वजनिक गर्दै मेयर बालेनले स्थानीय स्तरमा उत्पादित स्थानीय पेय पदार्थ तथा परम्परागत बस्तुहरूको ब्राण्डिङ गरी निर्यात गर्ने पनि बताएका छन् ।
त्यस्तै, महानगरले सार्वजनिक यातायात तथा सवारी पार्किङ र महानगरको सेवाप्रवाह पूर्ण डिजिटल रुपमा सञ्चालनमा ल्याउने लक्ष्य लिएको छ ।
बालेनले महानगरपालिकाको अत्यावश्यक सेवाहरु परिभाषित गरी सेवा प्रवाहलाई १६ घण्टासम्म सञ्चालन गरिने छ । महानगरपालिका अन्तर्गतका कार्यालयका सबै सेवा प्रवाह विन्दुहरुमा वन स्टप सर्भिस सेन्टर स्थापना गरी क्रमिक रुपमा सञ्चालनमा ल्याइने बताए ।
नीति तथा कार्यक्रम सार्वजनिक गर्दै उनले निजी क्षेत्र, संघसंस्था तथा व्यक्ति विशेषले सवारी साधन पार्किङ्ग प्रयोजनको लागि मात्र भवन निर्माण स्वीकृतिको लागि नक्सा पेश गरेमा निर्माण हुने भवनको नक्सापास वापत लाग्ने कुल दस्तुरमा ९० प्रतिशत छुट दिइने पनि उनले बताए ।



