images
images

सार्वजनिक ऋण २१ खर्ब ७३ अर्ब रुपैयाँ नाघ्यो, ११ महिनामा थपियो ३ खर्ब 


  • 472
    SHARES
  • २०८० आषाढ ६ गते बुधबार

    सार्वजनिक ऋण २१ खर्ब ७३ अर्ब रुपैयाँ नाघ्यो, ११ महिनामा थपियो ३ खर्ब 

    काठमाडौं । नेपालले हालसम्म तिर्न बाँकी सार्वजनिक ऋणको दायित्व २१ खर्ब ७३ अर्ब २४ करोड ७२ लाख रुपैयाँ पुगेको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले सार्वजनिक गरेको चालु आर्थिक वर्षको जेठ मसान्तसम्मको तथ्याङ्कअनुसार नेपालले १० खर्ब ९९ अर्ब ७२ करोड ३३ लाख रुपैयाँ आन्तरिक र १० खर्ब ७३ अर्ब ५२ करोड ३९ लाख रुपैयाँ बाह्य ऋण तिर्न बाँकी रहेको देखिएको हो ।

    घाटा बजेट ल्याउँदा बर्सेनि सार्वजनिक ऋण थपिँदै जाने र त्यसको साँवा ब्याज भुक्तानीको दायित्वको भारसमेत सरकारको वार्षिक बजेटमा बढ्दै जाने भन्दै संसद्मा विषय उठिरहेका बेला यस्तो तथ्याङ्क सार्वजनिक भएको हो । सरकारले आगामी आर्थिक वर्षको घाटा बजेट पूर्ति गर्नका लागि थप ४ खर्ब ५२ अर्ब ७५ करोड रुपैयाँ बराबर ऋण उठाउने लक्ष्य राखेको छ । 

    जसमध्ये २ खर्ब ४० अर्ब रुपैयाँ आन्तरिक र २ खर्ब १२ अर्ब ७५ करोड रुपैयाँ बाह्य उठाउने सरकारको लक्ष्य छ । चालु आर्थिक वर्ष २०७९÷८० सुरु हुँदा अर्थात् गतवर्ष असार मसान्तसम्ममा नेपालको सार्वजनिक ऋण २० खर्ब १३ अर्ब २९ करोड ६४ लाख रुपैयाँ बराबर थियो । चालु आर्थिक वर्षको पछिल्लो ११ महिना अवधिमा मात्र १ खर्ब ५९ अर्ब ९५ करोड ८ लाख रुपैयाँ बराबर ऋण थपिएको छ ।

     नेपालको कूल गार्हस्थ्य उत्पादन (जिडिपी) को आकार ४८ खर्ब ५१ अर्ब ६२ करोड रुपैयाँलाई आधार मान्दा जिडिपीमा सार्वजनिक ऋणको अनुपात ४४.७९ प्रतिशत पुगेको छ । 

    जिडिपीमा सार्वजनिक ऋणको अनुपात बढ्दै जाँनु र न्यून पुँजी निर्माणका कारण आर्थिक वृद्धिदरसमेत कमजोर भइरहँदा त्यसले आगामी दिनमा मुलुकको अर्थतन्त्रलाई जोखिममा पार्नेसक्ने भन्दै यो विषय अहिले संसद्मासमेत उठिरहेको छ ।

    सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार चालु आर्थिक वर्षको ११ महिनामा सरकारले ३ खर्ब ६ करोड रुपैयाँ ऋण उठाएको छ भने २ खर्ब ५ अर्ब १७ करोड रुपैयाँ बराबर साँवा ब्याज भुक्तानी गरेको छ । 

    जेठ मसान्तसम्ममा सरकारले गरेको पुँजीगत खर्चभन्दा सार्वजनिक ऋणको साँवा ब्याज भुक्तानीमा गरेको खर्च करिब ५२ अर्ब ८ करोड ६० लाख रुपैयाँले बढी हो । जेठ मसान्तसम्ममा सरकारको पुँजीगत खर्च १ खर्ब ५३ अर्ब ८ करोड ४२ लाख रुपैयाँ छ । 

    यसरी एकातर्फ सरकारको राजस्व असुली न्यून हुँदा ऋण उठाएर घाटा बजेट पूर्ति भइरहेको छ भने अर्कोतर्फ बर्सेनि थपिँदै गएको ऋणको साँवा ब्याजसमेत बढ्दै जाँदा वार्षिक बजेटको ठूलो अंश यसमा खर्च हुने गरेको छ ।

    यो अवधिमा आन्तरिक ऋणको साँवा, ब्याज र कसिमन भुक्तानीमा १ खर्ब ६४ अर्ब ४८ करोड ७८ लाख रुपैयाँ बराबर खर्च भएको छ । जेठ महिनासम्म आन्तरिक ऋणको साँवा भुक्तानीमा १ खर्ब ८ अर्ब ११ करोड ३८ लाख रुपैयाँ, ब्याज भुक्तानीमा ५६ अर्ब २६ करोड १० लाख रुपैयाँ र कमिसन भुक्तानीमा ११ करोड ३० लाख रुपैयाँ बराबर खर्च भएको छ । 

    त्यस्तै, बाह्य ऋणको साँवा ब्याज भुक्तानीमा ४० अर्ब ६८ करोड ४२ लाख रुपैयाँ बराबर खर्च भएको छ । बाह्य ऋणको साँवा भुक्तानीमा ३१ करोड ९९ लाख ८८ हजार रुपैयाँ र ब्याज भुक्तानीमा ८ अर्ब ६८ करोड ५४ लाख रुपैयाँ बराबर खर्च भएको छ ।

    राष्ट्रिय तथ्याङ्क कार्यालयले सार्वजनिक गरेको नेपालको जनगणना २०७८ अनुसार कूल जनसङ्ख्या २ करोड ९१ लाख ६४ हजार ५ सय ७८ बराबर छ । कूल सार्वजनिक ऋणलाई कूल जनसङ्ख्यासँग तुलना गर्दा प्रतिव्यक्ति ऋण ७४ हजार ४ सय १६ रुपैयाँ बराबर पर्न जान्छ ।


    images
    images

    Logo