काठमाडौं । आर्थिक अभाव झेल्दै आएको सरकारी स्वामित्वको हेटौँडा सिमेन्ट उद्योग लिमिटेडले चालु आर्थिक वर्ष २०७९/८० मा पनि ११ करोड १५ लाख रुपैयाँ घाटा व्यहोरेको छ । आर्थिक बर्ष २०७४/७५ पछि उद्योगले निरन्तर घाटा व्यहोर्दै आएको हो ।
संस्थाका अनुसार उद्योग हालसम्म ९० करोड रुपैयाँको घाटामा चलिरहेको छ । आर्थिक बर्ष २०७४/७५ मा उद्योगले १ लाख ९ हजार ७ सय ९६ मेट्रिक टन सिमेन्ट उत्पादन गरेको थियो । यसमा १ लाख ६ हजार ३ सय ३२ मेट्रिक टन सिमेन्ट बिक्री गर्न सफल भएको थियो भने १ अर्ब ६८ करोड ३८ लाख ६४ हजार ९ सय १७ रुपैयाँ आम्दानी गरेका थियो भने १ अर्ब ५२ करोड २६ लाख १ हजार ४ सय १८ रुपैयाँ खर्च भई १६ करोड ३६ लाख ३ हजार ४ सय ९९ रुपैयाँ नाफा कमाएको थियो । यसपछि उद्योग निरन्तर घाटामा गएको तथ्याङ्क छ ।
आर्थिक बर्ष २०७५/७६ मा उद्योगले १ लाख ९ सय ६९ मेट्रिक टन सिमेन्ट उत्पादन गरेकामा १ लाख ४ हजार ५ सय ९५ रुपैयाँ मेट्रिक टन सिमेन्ट बिक्री गरेको थियो । यसमा १ अर्ब ६४ करोड २० लाख १८ हजार ३ सय १८ रुपैयाँ आम्दानी गरेकामा १ अर्ब ६५ करोड २५ लाख ५९ हजार ४ सय ५४ रुपैयाँ खर्च भई १ करोड ५ लाख ४१ हजार १ सय ३६ रुपैयाँ नोक्सानी व्यहोरेको थियो ।
त्यसपछि आर्थिक बर्ष २०७६/७७ मा उद्योगले ८१ हजार ९ सय ८९ मेट्रिक टन सिमेन्ट उत्पादन गरेकामा ७२ हजार ७ सय ९५ मेट्रिक टन सिमेन्ट बिक्री गरेको थियो । यसमा १ अर्ब १ करोड ३ लाख ३ हजार ५ सय ४३ रुपैयाँ आम्दानी गरेकोमा १ अर्व २४ करोड ८५ लाख २७ हजार ५ सय ५१ रुपैयाँ खर्च भई २३ करोड ८२ लाख २४ हजार रुपैयाँ उद्योगलाई घाटा भएको थियो ।
यस्तै आर्थिक बर्ष २०७७/७८ मा उद्योगले ८९ हजार २ सय २५ मेट्रिक टन सिमेन्ट उत्पादन गरेकामा ९२ हजार ६ सय ८८ मेट्रिक टन सिमेन्ट बिक्री गर्दा १ अर्ब २२ करोड ४८ लाख ४८ हजार ४३ रुपैयाँ आम्दानी गरेकामा १ अर्ब ३९ करोड ५२ लाख ८८ हजार ७ सय ११ रुपैयाँ खर्च १७ करोड ४ लाख ४० हजार ६ सय ६९ रुपैयाँ उद्योगलाई घाटा भएको थियो ।
यसैगरी, आर्थिक बर्ष २०७८/७९ मा उद्योगले ८५ हजार २ सय ५६ मेट्रिक टन सिमेन्ट उत्पादन गरेकामा ८० हजार ६ सय ९८ मेट्रिक टन सिमेन्ट बिक्री गरेको थियो । यसमा १ अर्ब ४ करोड ३४ लाख ८६ हजार २ सय ९५ रुपैयाँ आम्दानी गरेकामा १ अर्ब २७ करोड ८९ लाख ९७ हजार २ सय ६४ रुपैयाँ खर्च भई २३ करोड ५५ लाख १० हजार ९ सय ६९ रुपैयाँ उद्योग घाटामा गएको थियो ।
यस्तै, आर्थिक बर्ष २०७९/८० मा १ अर्ब २ करोड ३९ लाख ८४ हजार ८ सय ४० रुपैयाँ आम्दानी गर्न सफल रहेको उद्योगले १ अर्ब १३ करोड ५५ लाख ४८ हजार २ सय ३५ रुपैयाँ खर्च गरेको थियो । यो आर्थिक बर्षमा उद्योगलाई ११ करोड १५ लाख ६३ हजार ३ सय ९५ घाटा भएको महाप्रबन्धक पाण्डेले बताए ।
उद्योगमा कच्चापदार्थको अभाव र पुरानो ऋण तिर्न नसक्दा बारम्बार बन्द हुँदै आएको छ । लामो समयदेखि निरन्तर घाटामा रहेको उद्योगको सिमेन्ट उत्पादनका लागि चाहिने कोइलाको अभावले उत्पादन कार्यमा समस्या आइरहेको छ । महाप्रबन्धक पाण्डे उद्योगलाई गतिशील बनाउन आफूले योजना उद्योग मन्त्रालयमा प्रस्तुत गरे पनि कुनै जवाफ नआएका कारण अगाडि बढ्न कठिन भएको बताए । उनका अनुसार उद्योगमा ३८ वर्ष पुरानो प्रविधि, उपकरण, बजारको अभाव, मूल्य समायोजन, प्रतिस्पर्धात्मक बजार लगायतका समस्या छन् ।
उद्योगले एक महिनापछि यही सोमबारदेखि पुनः क्लिङ्कर उत्पादन सुरु गरेको छ । अब तीन महिनाका लागि उद्योगमा कच्चापदार्थ तयारी रहेको बताउँदै तीन महिनाको उत्पादनले उद्योग बन्द भएको बेला धान्नुपर्ने बाध्यता रहेको उनको भनाइ छ । महाप्रबन्धक पाण्डेका अनुसार अहिले दैनिक १५ हजार बोरा सिमेन्ट उद्योगबाट उत्पादन तथा बिक्री भइरहेको र उद्योगमा ३० हजार मेट्रिक टन सिमेन्ट भण्डारण रहेको छ । उद्योगमा पहिलेदेखिकै ३० करोडभन्दा बढी कोइला खरिद तथा कर्मचारी निवृत्तिभरण बापतको ऋण भएकाले त्यसलाई घटाउँदै उद्योगलाई समायोजन गर्नतर्फ आफू लागिपरेको उनले बताए।
पछिल्लो समय बजारमा आएको आर्थिक मन्दीले सिमेन्टको बिक्रीसमेत घट्दा उद्योगले निरन्तर घाटा बेहोरिरहेको उनले बताए । उद्योगमा हाल दुई सयजना कर्मचारी कार्यरत छन् भने दैनिक ज्यालादारीमा सय कामदार रहेका छन् । उद्योगका भैँसे, ओख्रे, मजुवा र जोगिमारामा खानी रहेका छन् । कम्पनी ऐनअन्तर्गत २०३३ असोज १३ मा स्थापित भएको यस उद्योगले २०४२ सालदेखि व्यावसायिक उत्पादन सुरु गरेको थियो । उद्योगको वार्षिक उत्पादन क्षमता २ लाख २५ हजार मेट्रिक टन रहेको छ ।



