काठमाडौं । मधेश प्रदेश सरकारले आर्थिक बर्ष २०८०/८१ का लागि ४४ अर्ब ११ करोड रुपैयाँको बजेट ल्याएको छ । शुक्रबार अर्थ मन्त्री संजयकुमार यादवले आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट सार्वजनिक गर्दै सरकारले आगामी आर्थिक वर्षको लागि ४४ अर्ब ११ करोड ४६ लाख ३२ हजार रुपैयाँ बजेट बिनियोजन गरेको बताएका छन् ।
जसमध्ये चालुतर्फ १८ अर्ब २१ करोड ७६ लाख रुपैयाँ (४१.३० प्रतिशत), पुँजीगततर्फ २५ अर्ब ६९ करोड ७० लाख रुपैयाँ (५८.२५ प्रतिशत) र वित्तीय व्यवस्थापनतर्फ २० करोड रुपैयाँ (०.४५ प्रतिशत) विनियोजन गरेको छ ।
यस्तो खर्च व्यहोर्ने स्रोत मध्ये आन्तरिक राजस्वमार्फत ४ अर्ब ३७ करोड ८१ लाख रुपैयाँ, नेपाल सरकारबाट प्राप्त हुने राजस्व बाँडफाँडबाट ११ अर्ब ३८ करोड १९ लाख रुपैयाँ, समानिकरण अनुदानबाट ७ अर्ब ४१ करोड ५० लाख रुपैयाँ, बचतबाट १२ अर्ब ९० करोड ११ लाख रुपैयाँ, विशेष अनुदान ४९ करोड रुपैयाँ, समपूरक अनुदान ९८ करोड रुपैयाँ, सशर्त अनुदानबाट प्राप्त हुने ४ अर्ब ५६ करोड ८५ लाख रुपैयाँ गरी ४४ अर्ब ११ करोड ४६ लाख ३२ हजार रुपैयाँ बेहोर्दा अपुग हुने २ अर्ब रुपैयाँ आन्तरिक ऋणबाट व्यहोरिने प्रदेश सरकारले बताएको छ ।



