काठमाडौं । सुदूरपश्चिम प्रदेश सरकारले २९ अर्ब २६ करोड रुपैयाँको बजेट ल्याएको छ । प्रदेश आर्थिक मामिला मन्त्री नरेशकुमार शाहीले प्रदेशसभाको आजको बैठकमा उक्त बजेट ल्याएका हुन् ।
कुल बजेट मध्ये चालु तर्फ ९ अर्ब ५९ करोड ६० लाख, पुँजीगत १७ अर्ब २ करोड २३ लाख, अन्तर सरकारी वित्त हस्तान्तरण अन्तरगत २ अर्ब ३४ करोड ७५ लाख र वित्तीय व्यवस्थातर्फ ३० करोड विनियोजन गरिएको छ ।
बजेटको स्रोततर्फ आन्तरिक राजस्वबाट १ अर्ब ५० लाख रुपैयाँ संकलन गरिने जनाएको छ । त्यस्तै, संघीय सरकारको राजस्व बाँडफाँडबाट ९ अर्ब ४१ करोड, समानीकरण अनुदान ८ अर्ब ५२ करोड आर्थिक वर्षको बजेटबाट हुने ३ अर्ब ८६ करोड बचतलाई समेत बजेटमा समावेश गरिएको छ ।
त्यस्तै, ससर्त अनुदानबाट ४ अर्ब ५१ करोड १६ लाख, संघीय समपूरक अनुदानबाट ७७ करोड र विशेष अनुदानबाट ६२ करोड प्राप्त हुने अनुमान गरिएको छ । रोयल्टी बाँडफाँडबाट ६ करोड ५६ लाख रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ ।



