images
images

पासपोर्ट बनाउन ५ देखि ४० हजारसम्म शुल्क लाग्ने, विभागले तोक्यो नयाँ दर


  • 1.2K
    SHARES
  • २०८० आषाढ १ गते शुक्रबार

    पासपोर्ट बनाउन ५ देखि ४० हजारसम्म शुल्क लाग्ने, विभागले तोक्यो नयाँ दर

    काठमाडौं । राहदानी विभागले विभिन्न देशबाट पासपोर्ट बनाउन लाग्ने खर्चका लागि नयाँ शुल्क निर्धारण गरेको छ । बिहीबार जेपाल राजपत्रमा सूचना प्रकाशन गर्दै विभागले यस्तो दर निर्धारण गरेको हो । 

    यसअनुसार कुनैपनि जिल्ला प्रशासन कार्यालयबाट राहदानीका लागि आवेदन दिँदा ५ हजार रुपैयाँ मात्रै लाग्नेछ । तर, राहदानी विभागबाट पासपोर्ट लिनुपर्ने अवस्थामा १२ हजार रुपैयाँ लाग्नेछ । 

    सोही राहदानी हराएको, च्यातिएको अवस्थामा अर्को राहदानी बनाउनुपर्ने अवस्थामा भने प्रशासन कार्यालयबाट १० हजार र विभागबाट १७ हजार रुपैयाँ लाग्ने विभागले जनाएको छ । 

    यसबाहेक विभागले विदेशी दुतावास र कुटनीतिक नियोगबाट जारी हुने पासपोर्टका सम्बन्धमा समेत नयाँ शुल्क निर्धारण गरेको छ । जसअनुसार उत्तर अमेरिका र दक्षिण अमेरिका, जापान, दक्षिण कोरिया, हङकङ लगायतबाट राहदानी लिँदा १५० डलर, रुस र साइप्रसबाट ८० युरो र अन्य युरोपेली देशबाट १२० युरो शुल्क निर्धारण गरिएको छ । 

    साउदी, कतार, मलेसिया लगायत श्रम गन्तव्य मुलुकका दुतावासबाट राहदानी लिँदा भने ५० अमेरिकी डलर मात्रै लाग्नेछ । अरु एशियाली र अफ्रिकी देशबाट राहदानी लिँदा ८० अमेरिकी डलर लाग्ने जनाइएको छ । 

    पासपोर्ट हराएको अवस्थामा विदेशस्थित दुतावासबाट लिनुपर्दा भने तोकेको शुल्कको दोब्बर शुल्क लाग्ने विभागले जनाएको छ ।  आजको दर अनुसार अमेरिकी डलरको मूल्य १३१.७९ र युरोको मूल्य १४२.६७ रुपैयाँ रहेको छ । हराएको पासपोर्ट उत्तर अमेरिका, दक्षिण अमेरिका, जापान, दक्षिण कोरिया, हङकङ लगायत मुलुकस्थित कुटनीतिक नियोगबाट लिनुपर्दा ३०० अमेरिकी डलरसम्म खर्च गर्नुपर्ने देखिएको छ । यो भनेको अहिलेको विनिमय दर अनुसार ३९ हजार ५ सय ३७ रुपैयाँ हुन आउँछ ।


    images
    images

    Logo