काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले बजेटमा अनियमितता नभएको प्रष्टीकरण दिएका छन् । मंगलबार प्रतिनिधिसभाको बैठकमा सांसदहरुले सोधेको जवाफमा अर्थमन्त्री महतले बजेटमा चलखेल हुनसक्ने अवस्था नभएको बताएका हुन् । उनले सञ्चारमाध्यममा आएजस्तो पूर्व नायव सुब्बा रामकृष्ण श्रेष्ठको संलग्नताको सम्बन्धमा समेत बोलेका छन् । यसका लागि उनले ५ वटा आधार प्रस्तुत समेत गरेका छन् ।
१. रामकृष्ण श्रेष्ठलाई मैले ल्याएको होइन
करका दर हेरफेरको टाइप गर्ने व्यक्ति रामकृष्ण श्रेष्ठको नियुक्ति आफूले नगरेको अर्थमन्त्रीको तर्क छ । अर्थ मन्त्रालयका पूर्व नायव सुब्बा रहेका श्रेष्ठ गत फागुनमा भन्सार विभागमा करारका कर्मचारीको रुपमा नियुक्त भएका थिए । उनी नियुक्त हुँदा विष्णु पौडेल अर्थमन्त्री थिए ।
२. श्रेष्ठ ३० वर्षदेखि एचएस कोडको काम गर्दै आएका थिए
अर्थमन्त्री महतको दोस्रो तर्क उनी अवकाश हुनुभन्दा अघि पनि यही विषयमा काम गर्दै आएका र एचएस कोडसम्बन्धी विज्ञ रहेको भन्ने छ । उनले मन्त्रालयमा कोडसम्बन्धी विज्ञ व्यक्ति अरु नभएकोले उनलाई हायर गरिएको बताएका छन् ।
३. सचिव सहसचिवले टाइप गर्ने चलन छैन
मन्त्रालयमा सचिव, सहसचिवले कम्युटर टाइप गर्ने चलन नभएकोले बजेट तथा विभिन्न विधेयकको टाइप सहायक स्तरका कर्मचारीले नै गर्ने गरेको अर्थमन्त्रीको जिकिर छ । प्रतिनिधिसभामा बोल्दै महतले भने, हाम्रोमा अन्तिममा टाइप गर्ने काम सहायक स्तरका कर्मचारीहरुलाई नै लगाउने चलन छ । त्यसकै लागि उहाँलाई जिम्मा दिइएको हो ।
४. दरबारे निर्णय भएपछि मात्रै श्रेष्ठलाई प्रवेश गराइएको हो
महतले बजेट निर्माणका क्रममा अर्थमन्त्री, अर्थ तथा राजश्व सचिव, बजेट तथा राजश्व महाशााका सहसचिव तथा सम्बन्धित शाखाका उपसचिव सहभागी हुने व्यवस्था रहेको र बजेटसम्बन्धी निर्णय गर्दा कोही अन्य व्यक्ति सहभागी नरहेको दाबी गरे । उनले करको दरबारे अन्तिम निर्णय भइसकेपछि कानून मन्त्रालयका प्रतिनिधिसँग छलफल गरेको र त्यसपछि मात्रै टाइपका गर्न लगाइएको बताए ।
५. म सिस्टमलाई विश्वास गर्छु
उनले करको दरमा चलखेल हुँनै नसक्ने ठोकुवा भने गरेनन् । उनले आफूले सिस्टमको पालना गरेको भन्दै सिस्टमलाई विश्वास गर्ने बताए । यसको अर्थ सिस्टममा रहेका अन्य व्यक्ति तथा कर्मचारीहरु समेत इमान्दार रहेको विश्वास गरेको उनको तर्क छ ।
यो तर्कका सम्बन्धमा प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीले पनि अर्थमन्त्री महतको बचाऊ गरेका छन् । 'उहाँले कसम खानुभएन, कसम खाने मान्छेहरु खतरनाक हुन्छन्, उहाँले सिस्टमलाई विश्वास गर्छु भन्नुभयो, हामीले उहाँलाई शंकाको सुविधा दिऔं', ओलीले भने ।



