images
images

सार्वजनिक संस्थान : २५ नाफामा, १७ घाटामा र दुईवटाको कारोबार शून्य


  • 671
    SHARES
  • २०८० जेठ १४ गते आइतबार

    सार्वजनिक संस्थान : २५ नाफामा, १७ घाटामा र दुईवटाको कारोबार शून्य

    काठमाडौं । सरकारको लगानी रहेका ४४ वटा सार्वजनिक संस्थानमध्ये २५ वटा नाफामा, १७ वटा घाटामा र दुईवटाको कारोबार शून्य देखिएको छ ।सरकारले आज सार्वजनिक गरेको ‘सार्वजनिक संस्थानको वार्षिक स्थिति समीक्षा, २०८०’ अनुसार आर्थिक वर्ष २०७८/७९ मा अस्तित्वमा रहेकामध्ये २५ वटा संस्थान नाफा आर्जन गर्न सफल भएका छन् भने १७ वटा संस्थानले घाटा व्यहोरेका छन् । दुईवटा संस्थानको कारोबार शून्य रहेको छ । 

    हाल जनकपुर चुरोट कारखाना लिमिटेड बन्द छ भने विद्युत् उत्पादन कम्पनी लिमिटेड र राष्ट्रिय प्रसारण ग्रीड कम्पनीको व्यवसाय शुरुवाती अवस्थामै रहेको छ ।

     समीक्षा प्रतिवेदनअनुसार नोक्सानीमा सञ्चालन भइरहेका संस्थानमध्ये नेपाल ओरिण्ड म्याग्नासाइट प्रालि र बुटवल धागो कारखाना लिमिटेडको व्यावसायिक कारोबार भएको छैन । नेपाल रेल्वे कम्पनी लिमिटेडले पनि व्यवस्थित रूपले गति लिन सकेको छैन । व्यावसायिक कारोबार नभए पनि यी तीन कम्पनीको प्रशासनिक खर्च हुने भएकाले नोक्सानी व्यहोरिरहेका छन् ।

    गत आर्थिक वर्षसम्ममा नाफामा सञ्चालित २५ वटा संस्थानको खुद नाफा ३३.६५ प्रतिशतले बढेको छ भने नोक्सानीमा सञ्चालित १७ संस्थानको खुद नोक्सानी ६ सय १० दशमलव ९६ प्रतिशतले बढेको छ । सार्वजनिक संस्थानको प्रशासनिक खर्चमा २.४ प्रतिशतले कमी आएको देखिएको छ ।

    अघिल्लो आर्थिक वर्ष २०७७÷७८ मा सार्वजनिक संस्थानको कुल सञ्चालन आय ४ खर्ब २२ अर्ब ४४ करोड १७ लाख रुपैयाँ रहेकोमा गत आर्थिक वर्ष २०७८÷७९ मा ३६.२२ प्रतिशतले वृद्धि भई ५ खर्ब ७५ अर्ब ४३ करोड ५५ लाख रुपैयाँ पुगेको छ ।

    अघिल्लो आर्थिक वर्षको तुलनामा सार्वजनिक संस्थानको खुद नाफामा ९४.१५ प्रतिशतले कमी आई आर्थिक वर्ष २०७८/७९ मा नोक्सानी समेतलाई समायोजन गर्दा १ अर्ब ५४ करोड २० लाख रुपैयाँ कायम भएको छ । नाफा भएका संस्थानबाट आर्थिक वर्ष २०७८/७९ मा जम्मा ६ अर्ब १५ करोड ५१ लाख रुपैयाँ लाभांश प्राप्त भएको छ । यो रकम अघिल्लो वर्षको तुलनामा ८ दशमलव ४३ प्रतिशतले कम हो ।

    सार्वजनिक संस्थानहरुको सञ्चित नाफा अघिल्लो आर्थिक वर्षको तुलनामा शून्य दशमलव ७४ प्रतिशतले कमी आई १ खर्ब १२ अर्ब ७२ करोड ७१ लाख रुपैयाँ पुगेको छ । सञ्चित नोक्सानी गत आर्थिक वर्षको तुलनामा एक सय ७६ दशमलव ८ प्रतिशतले बढेर ६० अर्ब ३१ करोड ९२ लाख रुपैयाँ कायम भएको छ । सबै संस्थानको सञ्चित नाफामा ४२ दशमलव ९० प्रतिशतले कमी आई  ५२ अर्ब ४० करोड ७८ लाख रुपैयाँ पुगेको समीक्षा प्रतिवेदनमा उल्लेख छ ।

    गत आर्थिक वर्षमा शेयरधनी कोष र नेटवर्थ अघिल्लो आर्थिक वर्षको तुलनामा शून्य दशमलव ७४ प्रतिशतले वृद्धि भई ७ खर्ब ६१ अर्ब ३३ करोड २५ लाख रुपैयाँ पुगेको छ । 
    समीक्षा अवधिमा संस्थानमा नेपाल सरकारको कुल लगानी गत आर्थिक वर्षको तुलनामा ८.९७ प्रतिशतले वृद्धि भई ६ खर्ब १८ अर्ब १६ करोड ४६ लाख रुपैयाँ पुगेको देखिन्छ । 

    गत आर्थिक वर्षको तुलनामा शेयर लगानी ४.५४ प्रतिशतले वृद्धि भई ३ खर्ब २८ अर्ब ९२ करोड ७५ लाख रुपैयाँ पुगेको छ भने ऋण लगानी १४.४९ प्रतिशतले वृद्धि भई २ खर्व ८९ अर्व २३ करोड ७१ लाख रुपैयाँ पुगेको छ ।


    images
    images

    Logo