images
images

साढे २१ खर्ब नाघ्यो नेपालको सार्वजनिक ऋण,प्रतिव्यक्ति ऋणभार ७३ हजार ८ सय


  • 354
    SHARES
  • २०८० जेठ ८ गते सोमबार

    साढे २१ खर्ब नाघ्यो नेपालको सार्वजनिक ऋण,प्रतिव्यक्ति ऋणभार ७३ हजार ८ सय

    काठमाडौं ।  नेपालले तिर्न बाँकी सार्वजनिक ऋणको दायित्व साढे २१ खर्ब नाघेको छ ।

    सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार वैशाख मसान्तसम्ममा नेपालले  १० खर्ब ८३ अर्ब ४७ करोड ४९ लाख आन्तरिक र  १० खर्ब ७० अर्ब ६४ करोड ९० लाख बाह्य गरी कुल  २१ खर्ब ५४ अर्ब १२ करोड ३९ लाख बराबर ऋण तिर्न बाँकी रहेको देखिएको हो । 
     
    चालु आर्थिक वर्ष २०७९र८० शुरु हुँदा अर्थात् गत वर्ष असार मसान्तसम्ममा नेपालको सार्वजनिक ऋण  २० खर्ब १३ अर्ब २९ करोड ६४ लाख बराबर थियो । चालु आर्थिक वर्षको पछिल्लो १० महिना अवधिमा मात्र एक खर्ब ४० अर्ब ८२ करोड ७५ लाख बराबर ऋण थपिएको हो ।

    नेपालको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को आकार रू ४८ खर्ब ५१ अर्ब ६२ करोडलाई आधार मान्दा जीडीपीमा सार्वजनिक ऋणको अनुपात ४४ दशमलव ४० प्रतिशत बराबर देखिएको छ । जीडीपीमा सार्वजनिक ऋणको अनुपात बढ्दै जानु र न्यून पूँजी निर्माणका कारण आर्थिक वृद्धिदरसमेत कमजोर भइरहँदा त्यसले आगामी दिनमा मुलुकको अर्थतन्त्रलाई जोखिममा पार्नेसक्ने देखिएको छ ।

    सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार चालु आर्थिक वर्षको १० महिना अवधिमा मात्र सरकारले  दुई खर्ब ३० अर्ब २४ करोड ६७ लाख ऋण उठाएको छ भने  एक खर्ब ४३ अर्ब ४२ करोड दुई लाख बराबर साँवा ब्याज तिरेको छ ।

    वैशाख मसान्तसम्ममा सरकारले गरेको पूँजीगत खर्चभन्दा सार्वजनिक ऋणको साँवा ब्याज भुक्तानीमा गरेको खर्च करिब  १८ अर्बले बढी हो । वैशाख मसान्तसम्ममा सरकारको पूँजीगत खर्च एक खर्ब २५ अर्ब ६७ करोड बराबर छ ।

    यसरी एकातर्फ सरकारको राजश्व असुली न्यून हुँदा ऋण उठाएर घाटा बजेट पूर्ति भइरहेको छ भने अर्कोतर्फ बर्सेनि थपिँदै गएको ऋणको साँवा ब्याजसमेत बढ्दै जाँदा वार्षिक बजेटको ठूलो अंश यसमा खर्च हुने गरेको छ ।

    चालु आर्थिक वर्षको १० महिनामा सरकारले आन्तरिक ऋणको साँवा ब्याज भुक्तानीमा  एक खर्ब १० अर्ब ४२ करोड ५८ लाख र बाह्य ऋणको साँवा ब्याज भुक्तानीमा  ३२ अर्ब ९९ करोड ६२ खर्चिएको छ । आन्तरिकतर्फको साँवा रकम  ६३ अर्ब ४७ करोड ४४ लाख, ब्याज  ४६ अर्ब ८५ करोड तीन लाख र कमिसन रकम  १० करोड ११ लाख बराबर रहेको छ । त्यस्तै, बाह्य ऋणतर्फ साँवा भुक्तानीमा  २५ अर्ब ९४ करोड ४८ लाख र ब्याज भुक्तानीमा  सात अर्ब पाँच करोड १४ लाख बराबर खर्च भएको कार्यालयले जनाएको छ ।

    चालु आर्थिक वर्षको वैशाख मसान्तसम्म सरकारले उठाएको आन्तरिक ऋण  एक खर्ब ५९ अर्ब ५० करोड र बाह्य ऋण  ७० अर्ब ७४ करोड बराबर रहेको छ ।

    राष्ट्रिय तथ्याङ्क कार्यालयले सार्वजनिक गरेको नेपालको जनगणना २०७८ अनुसार कुल जनसङ्ख्या दुई करोड ९१ लाख ६४ हजार पाँच सय ७८ बराबर छ । कुल सार्वजनिक ऋणलाई कुल जनसङ्ख्यासँग तुलना गर्दा प्रतिव्यक्ति ऋण ७३ हजार आठ सय ६० बराबर पर्न जान्छ ।


    images
    images

    Logo