काठमाडौं । बैशाख महिनामा ५४ हजार भन्दा बढी नेपालीले वैदेशिक रोजगारीमा जानका लागि श्रम स्वीकृति लिएका छन् । वैदेशिक रोजगार विभागका अनुसार वैशाखमा ४९ हजार ५ सय ९ जना पुरुष र ४ हजार ९ सय ४८ जना महिलाले गरि कुल ५४ हजार ४ सय ५७ जनाले वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिएका हुन् ।
यो सङ्ख्या पहिलोपटक वैदेशिक रोजगारीमा जान व्यक्तिगत श्रम स्वीकृति लिने, संस्थागत नयाँ श्रम स्वीकृति लिने र पुनः श्रम स्वीकृति लिनेको हो । यसैगरी नयाँ श्रम स्वीकृति लिने नेपालीको सङ्ख्या ३३ हजार ४ सय ४० जना रहेको छ । जसमा ३ हजार ६ सय १९ जना महिला र २९ हजार ८ सय २१ पुरुष रहेको विभागले जनाएको छ ।
वैशाखमा सबैभन्दा धेरै १६ हजार २६५ जनाले मलेसियाका लागि श्रम स्वीकृति लिएका छन्। त्यस्तै साउदीका लागि ८ हजार ६८१, कतारका लागि १० हजार २ सय ३० र युएई ९ हजार ४ सय ८३ जना तथा दक्षिण कोरीयका लागि २ हजार ५ सय ७४ जनाले श्रम स्वीकृति लिएका छन्।
त्यस्तै कुवेतका लागि २ हजार १ सय १० जनाले श्रम स्वीकृति लिएका छन् । रोमानीयका लागि १ हजार ६ सय ६, जापनका लागि ८ सय १७, बहराइनका लागि ५ सय ५, साइप्रसका लागि ४ सय ६०, क्रोएसियाका लागि ४ सय ७१, माल्टाका लागि २ सय ५७, पोल्याण्डका लागि ६ सय ३५, युकेका लागि १ सय ५८ तथा अमेरीकाका लागि २९ जनाले श्रम स्वीकृति लिएको विभागले जनाएको छ ।



