काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले सोमबारदेखि मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) कार्यान्वयनमा ल्याउने जनाएको छ । शनिबार एक सूचना जारी गर्दै प्राधिकरणले जेठ १ गतेदेखि सो प्रणाली लागू गर्ने जनाएको हो ।
यसअघि गत प्राधिकरणले पुस १५ देखि पूर्णरुपमा संचालनमा ल्याउने लागेको उक्त प्रणाली प्रधानमन्त्रीको निर्देशनमा रोकिएको थियो । व्यक्तिगत प्रयोजनका लागि विदेशबाट ल्याई भन्सार कार्यालयमा जाँच पास भएका मोबाईल सेटहरू एमडीएमएस प्रणालीमा स्वतः दर्ता हुने व्यवस्था गरिएको प्राधिकरणले जनाएको छ।
साथै, नेपाल भित्रै मोबाइल खरिद गर्दा उक्त मोबाइल सेट नेपाल दूरसञ्चार प्राधिकरणको एमडीएमएस प्रणालीमा दर्ता भए/नभएको यकिन गर्न सकिने हुँदा सोही अनुरूप यकिन गरेर मात्र खरिद गर्नु हुनका साथै मोबाइल आयातकर्ता र विक्रेताहरूले मोबाइल आयात गर्नु अघि अनिवार्य रूपमा प्राधिकरणको पूर्व स्वीकृति लिई प्राधिकरणमा दर्ता भएका मोबाइल मात्र बिक्री वितरण गर्ने समेत प्राधिकरणले अनुरोध गरेको छ ।
मोबाइल सेटको गैरकानूनी आयात, विक्री वितरण तथा प्रयोगलाई निरुत्साहित गरी थप व्यवस्थित गर्न, चोरी भएका तथा हराएका मोबाइल सेटको ट्र्याकिङ÷ब्लकिङ गर्न प्राधिकरणले यसअघि परीक्षणको रूपमा एमडीएमएस लागू गरेको थियो ।



