काठमाडौं । केन्द्रीय तथ्यांक कार्यालयले आर्थिक वर्ष २०७९/८० को केही प्रमुख आर्थिक सूचकहरूको अवस्था सार्वजनिक गरेको छ । कार्यालयका अनुसार यो वर्ष नेपालीको प्रतिव्यक्ति आय १ हजार ३ सय ९९ अमेरिकी डलर रहेको छ ।
नेपाली रुपैयाँअनुसार १ लाख ८२ हजार ६ सय ८३ रुपैयाँ बराबर नेपालीको वार्षिक आय छ । गतवर्ष नेपालीको प्रतिव्यक्ति आय १ हजार ३ सय ९९ अमेरिकी डलर नै रहेको कार्यालयले जनाएको छ ।
२०७९/८० मा उपभोक्ता मूल्यमा १.८६ प्रतिशतले समष्टिगत आर्थिक वृद्धि हुने साथै अर्थतन्त्रको आकार ५३ खर्ब ८१ अर्बको हुने अनुमान रहेको छ । यस्तै प्रतिव्यक्ति कुल राष्ट्रिय उत्पादन भने १ हजार ४ सय १० अमेरिकी डलर पुग्ने अनुमान केन्द्रीय तथ्यांक कार्यायले गरेको छ । जुन १ लाख ८४ हजार १४० नेपाली रुपैयाँ बराबर हो ।
आर्थिक वर्ष २०७९र८० मा कूल गार्हस्थ्य उत्पादन वृद्धिदर उपभोक्ता मूल्यमा १.८६ प्रतिशतले वृद्धि भई अर्थतन्त्रको आकार ५३ खर्ब ८१ अर्ब ३४ करोड हुने प्रक्षेपण गरिएको छ ।
चालु मूल्यमा कूल स्थिर पूँजी निर्माण १३ खर्ब ५६ अर्ब ४६ करोड, अन्तिम उपभोग खर्च ५० खर्ब ३६ अर्ब १५ करोड र वस्तु तथा सेवा निर्यात ३ खर्ब ८५ अर्ब ११ करोड हुने अनुमान गरिएको छ ।
सो अवसरमा प्रमुख तथ्याङ्क अधिकारी रामप्रसाद थपलियाले अर्थतन्त्रका विविध पक्षको यथार्थ मापन गरी आर्थिक नीति निर्माण गर्न तथा आर्थिक विकासका गतिविधिहरूको अनुगमन मूल्याङ्कन गर्न सहयोग पु¥याउने उद्देश्यले कूल गार्हस्थ्य उत्पादन, उपभोग, बचत, लगानी जस्ता महत्त्वपूर्ण राष्ट्रिय लेखासम्बन्धी समष्टिगत आर्थिक सूचक तयार गरी यसअघि जस्तै तथ्याङ्क सार्वजनिक गरेको बताए ।
उपप्रमुख तथ्याङ्क अधिकारी डा हेमराज रेग्मीले यसअघि जस्तै चालु आवमा पनि कूल गार्हस्थ्य उत्पादनमा सबैभन्दा बढी हिस्सा कृषि क्षेत्रको रहेको बताउँदै चालु आवमा कृषि क्षेत्रको हिस्सा २४ दशमलव १२ प्रतिशत र गैरकृषि क्षेत्रको ७५ दशमलव ८८ प्रतिशत रहेको जानकारी दिए ।
कुल गार्हस्थ्य उत्पादनमा औद्योगिक क्षेत्रको पाँच दशमलव ३२ प्रतिशत, निर्माण क्षेत्रको पाँच दशमलव ५२ प्रतिशत, थोक तथा खुद्रा व्यापार, गाडी तथा मोटरसाइकल मर्मत क्षेत्रको १५ दशमलव ३९ प्रतिशत, यातायात तथा भण्डारण क्षेत्रको छ दशमलव ७९ प्रतिशत, आवास तथा भोजन सेवाको एक दशमलव ९८ प्रतिशत, सूचना तथा सञ्चार क्षेत्रको एक दशमलव ९७ प्रतिशत, वित्तीय तथा बीमा क्षेत्रको सात दशमलव ३७ प्रतिशत र घर जग्गा कारोबारको आठ दशमलव ३७ प्रतिशत रहेको सो अवसरमा वितरित प्रेस विज्ञप्तिमा उल्लेख छ ।



