काठमाडौं । नेपाल एसिया कपमा छनौट भएको छ । आज काठमाडौको किर्तिपुरमा भएको एसीसी प्रिमियर कपको फाइनलमा यूएई ७ विकेटले पराजित गर्दै पहिलो पटक एसिया कपमा छनौट भएको हो । एसीसी प्रिमियर कपको फाइनलमा नेपालले १ सय १८ रनको लक्ष्य पछ्याएको नेपालले ३०.३ ओभरमा ३ विकेटको क्षतिमा लक्ष्य पुरा गरेको हो ।
नेपाललाई जित दिलाउँन गुल्सन झाले ८४ बलमा ६७ रन र भिम सार्कीले ७२ बलमा ३६ रन बनाए । गुल्सनले ६ छक्का र ३ चौका प्रहार गरेका थिए भने सार्कीले ४ चौका हानेका थिए । २२ रनमा ३ विकेट गुमाएको नेपालका लागि सार्की र झाले सहज जित दिलाएका हुन् ।
यसअघि नेपालका बलरले उत्कृष्ठ खेल्दै यूएईलाई ३३.१ मा ११७ रनमा अलआउट गरेका थिए । सोमबार वर्षाका कारण रद्द भएको नेपाल यूएई बीचको फाइनल खेल आज ९ वजे सोहि अवस्थाबाट पुनः शुरु भएको थियो । आज युएईले ११ थप ११ रन जोड्दै एक विकेट गुमाएको थियो । पछिल्लो विकेट पनि ललित राजवंशीले लिएका थिए । सो संगै ललितले ७.१ ओभरमा दुई मेडन राख्दै १४ रन खर्चेर सर्वाधिक ४ विकेट हात पारेका छन् । त्यसैगरी सन्दीप लामिछाने र करण केसीले समान दुई विकेट लिएभने सोमपाल कामी र गुल्सन झाले समान एक विकेट हात पारपछि युएईको पारी सस्तैमा समेटिएको हो ।
सोमबार टस हारेपछि ब्याटिङमा आएको यूएईले २७.३ ओभरमा नौ विकेट गुमाएर १०६ रन बनाएको अवस्थामा वर्षा भएपछि खेल रोकिएको थियो । निरन्तर वर्षाका कारण खेल अघि बढ्न नसकेपछि खेल आजका लागि सारिएको थियो । २७.३ ओभरसम्मको खेल सकिँदासम्म यूएईका आसिफ खानले ४६ रन बनाएका थिए । आर्यन लक्राले १३, कप्तान मुहम्मद वसिमले ११ र बसिल हमिले १० रन बनाएका थिए । यसबाहेक यूएईका अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेका थिएनन् ।
सोमबार वर्षाले प्रभावित बनेको खेल दुई पटक रोकिएको थियो । त्रिवि क्रिकेट मैदानमा यूएईले १६ ओभरमा पाँच विकेट गुमाएर ६० रन जोडेको अवस्थामा वर्षा भएपछि पहिलोपटक खेल रोकिएको थियो । त्यसबेला खेल वर्षाका कारण आधा घण्टा रोकिएको थियो । यस्तै, २७.३ ओभरमा नौ विकेट गुमाएर १०६ रन बनाएको अवस्थामा पुनः वर्षा भएपछि खेल दोस्रोपटक रोकिएको थियो । त्यसपछि लगातार वर्षा भएपछि खेल अघि बढ्न नसकदा आजका लागि सारिएको हो ।
प्रिमियर कपको उपाधि जित्ने टिमले एसिया कपमा भारत र पाकिस्तानसँगै समूह ‘ए’मा स्थान पक्का गर्नेछ । नेपाल अहिलेसम्म एसिया कपमा छनोट हुन सकेको छैन । प्रतियोगिताको समूह ‘ए’ को विजेता बन्दै अन्तिम चारमा प्रवेश गरेको नेपालले सेमिफाइनलमा कुवेतलाई समूह चरणकै नतिजाका आधारमा पछि पारेर फाइनलमा स्थान सुरक्षित गरेको थियो । यता समूह ‘बी’को विजेताको रूपमा सेमिफाइनल आएको यूएईले त्यहाँ ओमानलाई डकवर्थ लुईस पद्धतिअनुसार दुई रनले हराउँदै नेपालसँगको उपाधि भिड्न्त पक्का गरेको थियो ।



