images
images

नेपाल र यूएईबीचको बाँकी खेल आज, डीएलएसको सम्भावना न्यून, नेपाललाई सुपर ओभरको भय !


  • 302
    SHARES
  • २०८० बैशाख १९ गते मंगलबार

    नेपाल र यूएईबीचको  बाँकी खेल आज, डीएलएसको सम्भावना न्यून, नेपाललाई सुपर ओभरको भय !

    काठमाडौं । एसीसी प्रिमियर कपमा सोमबार वर्षाका कारण रद्द भएको नेपाल र युनाइटेड अरब इमिरेट्स (यूएई) बीचको बाँकी फाइनल खेल आज पुनः हुँदैछ । वर्षाले अवरुद्ध गरेपछि रोकिएको खेल हिजोकै अवस्थाबाट आज बिहान ९ वजे किर्तीपुरमा शुरु हुन लागेको हो । यद्यपी आज पनि वर्षाको सम्भावना त्यतिकै रहेको छ । 

    मौसमविद्का अनुसार आज वाग्मती प्रदेशका काठमाडौं उपत्यका लगायतका भागमा वर्षाको सम्भावना छ । बिहानको समयमा काठमाडौं उपत्यकामा वर्षाको सम्भावना कम देखिएपनि मध्याह्नपछि वर्षा हुने जनाइएको छ । यद्यपी हिजोको तुलनामा आज कम वर्षा हुने बिभागले जनाएको छ । सोमबार टस हारेपछि ब्याटिङमा आएको यूएईले २७.३ ओभरमा नौ विकेट गुमाएर १०६ रन बनाएको अवस्थामा वर्षा भएपछि खेल रोकिएको थियो । 

    निरन्तर वर्षाका कारण खेल अघि बढ्न नसकेपछि खेल आजका लागि सारिएको थियो । २७।३ ओभरसम्मको खेल सकिँदासम्म यूएईका आसिफ खानले ४६ रन बनाएका थिए । आर्यन लक्राले १३, कप्तान मुहम्मद वसिमले ११ र बसिल हमिले १० रन बनाएका थिए । यसबाहेक यूएईका अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेका थिएनन् । यूएईविरुद्ध कसिलो बलिङ गरेको नेपालका ललितनारायण राजवंशीले तीन, करण केसी र सन्दीप लामिछानेले समान दुई विकेट लिएका थिए । यस्तै, सोमपाल कामी र गुल्सन झाले एक–एक विकेट लिएका थिए ।

    सोमबार वर्षाले प्रभावित बनेको खेल दुई पटक रोकिएको थियो । त्रिवि क्रिकेट मैदानमा यूएईले १६ ओभरमा पाँच विकेट गुमाएर ६० रन जोडेको अवस्थामा वर्षा भएपछि पहिलोपटक खेल रोकिएको थियो । त्यसबेला खेल वर्षाका कारण आधा घण्टा रोकिएको थियो । यस्तै, २७।३ ओभरमा नौ विकेट गुमाएर १०६ रन बनाएको अवस्थामा पुनः वर्षा भएपछि खेल दोस्रोपटक रोकिएको थियो । त्यसपछि लगातार वर्षा भएपछि खेल अघि बढ्न नसकदा आजका लागि सारिएको हो । 

    माैसमका कारण आज पनि पूरा खेल हुन नसकेमा डकवर्थ लुइस मेथडबाट ओभर घटाइनेछ । तर २० ओभरको खेल नभइ त्यो प्रणाली लागु गर्न पाइँदैन । आज त्यति पनि खेल हुन नसक्ने  र भोलि पनि सोही अवस्था आएमा सुपरओभरको खेल हुनेछ । जसमा नेपाल र यूएई दुवैले एक एक ओभर मात्रै खेल्नेछन् । सुपर ओभर पनि हुन नसक्ने भएमा नेपाल एकदीवसीय वरियतामा माथि रहेको आधारमा स्वत: एशिया कपमा छनोट हुनेछ ।

    आजको अवस्था हेर्दा डीएलएस मेथडको खेल हुने सम्भावना कम छ । किनकी नेपालले २० ओभर खेल नसक्दै यूएईले दिएको लक्ष्य पूरा गर्ने सम्भावना छ । तर सुपरओभरको खेल हुने अवस्थामा भने नेपालले अहिलेसम्म गरेको प्रदर्शन व्यर्थ हुनेछ । 

    प्रिमियर कपको उपाधि जित्ने टिमले एसिया कपमा भारत र पाकिस्तानसँगै समूह ‘ए’मा स्थान पक्का गर्नेछ । नेपाल अहिलेसम्म एसिया कपमा छनोट हुन सकेको छैन । प्रतियोगिताको समूह ‘ए’ को विजेता बन्दै अन्तिम चारमा प्रवेश गरेको नेपालले सेमिफाइनलमा कुवेतलाई समूह चरणकै नतिजाका आधारमा पछि पारेर फाइनलमा स्थान सुरक्षित गरेको थियो । यता समूह ‘बी’को विजेताको रूपमा सेमिफाइनल आएको यूएईले त्यहाँ ओमानलाई डकवर्थ लुईस पद्धतिअनुसार दुई रनले हराउँदै नेपालसँगको उपाधि भिड्न्त पक्का गरेको थियो ।


    images
    images

    Logo