images
images

चैतमा मात्र सरकारले गर्यो साढे ३३ अर्ब रकमान्तर


  • 249
    SHARES
  • २०८० बैशाख १६ गते शनिबार

    चैतमा मात्र सरकारले गर्यो साढे ३३ अर्ब रकमान्तर

    काठमाडौं । चालु आर्थिक वर्षको चैत महिनामा मात्र सरकारले करिब साढे ३३ अर्ब रुपैयाँ बराबर रकमान्तर, स्रोतान्तर र थप निकासा गरेको छ । अर्थ मन्त्रालयले सार्वजनिक गरेको २०७९ चैत महिनामा पुँजीगततर्फ १ करोड रुपैयाँभन्दा बढीको एक उपशीर्षकबाट अर्को बजेट उपशीर्षकमा भएको रकमान्तरको विवरण अनुसार ३३ अर्ब ३४ करोड ४५ लाख ८१ हजार रुपैयाँ बराबर रकमान्तर भएको हो ।
         
    यो अवधिमा अर्थ मन्त्रालयले २७ अर्ब रुपैयाँ बराबर आन्तरिक ऋण तिर्नका लागि रकमान्तर गरेको छ । यो रकम अर्थ विविध शीर्षकबाट निकासा दिइएको छ । त्यस्तै अर्थ विविध शीर्षकबाटै गण्डकी प्रदेश प्रमुखको कार्यालयको चालु खर्चका लागि २८ लाख ४३ हजार रुपैयाँ बराबर थप निकासा दिइएको छ । सङ्घीय संसद् सचिवालका कर्मचारी, सुरक्षाकर्मी र पदाधिकारीका स्वकीय सचिवालयका कर्मचारीका लागि अतिरिक्त समय भत्ताका रुपमा ५० लाख रुपैयाँ निकासा दिइएको छ । लोकसेवा आयोगलाई ४ करोड ३३ लाख रुपैयाँ, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका लागि ६ करोड रुपैयाँका बराबर निकासा दिइएको छ ।
         
    चैत महिनामा २ वटा योजना तथा कार्यक्रमका लागि बहुवर्षीय ठेक्काको स्रोत सहमति दिइएको अर्थ मन्त्रालयले जनाएको छ । वन तथा वातावरण मन्त्रालयअन्तर्गत ललितपुरको गोदावरीमा राष्ट्रिय ‘हरवोरियम’ भवन निर्माणका लागि ४० करोड ५० लाख रुपैयाँ र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गत सामाखुसी–टोखा–गुज्रे सडक आयोजनाका लागि ७ करोड ६२ लाख रुपैयाँ बराबर स्रोत सहमति दिइएको छ ।
         
    ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले बूढीगण्डकी जलविद्युत् आयोजनाको १९ करोड रुपैयाँ रकमान्तर गरेर नदी नियन्त्रण आयोजनाका लागि दिएको छ । त्यसैगरी, पालुङटार–कुण्डुटार सिँचाइ आयोजनाको ३ करोड ६४ लाख रुपैयाँ र सिँचाई पुनःस्थापना आयोजनाको ३ करोड ९० लाख रुपैयाँ बराबर रकमान्तर गरेर नदी नियन्त्रण आयोजनाका लागि दिइएको छ ।
         
    बूढीगण्डकी जलविद्युत् आयोजनाको २१ करोड रुपैयाँ रकमान्तर गरेर बृहत् सरकारी सिँचाइ योजनाको पुनःस्थापना तथा व्यवस्थापन कार्यक्रमका लागि र २५ करोड रुपैयाँ रकमान्तर गरी सुनसरी–मोरङ आयोजनालाई दिइएको छ । बूढीगण्डकीकै २० करोड रुपैयाँ समृद्ध तराई–मधेस सिँचाइ विशेष कार्यक्रमका लागि र ६ करोड रुपैयाँ भूमिगत स्यालो ट्युबवेल कार्यक्रमका लागि दिइएको छ ।
         
    भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले उत्तर–दक्षिण राजमार्गको ९ करोड रुपैयाँ घटाएर काठमाडौँ उपत्यका सडक बिस्तार आयोजनालाई रकमान्तर गरिएको छ । राप्ती लोकमार्गको ६ करोड ५० लाख रुपैयाँ रकमान्तर गरेर स्थानीय सडक पुल निर्माण कार्यक्रमका लागि र प्रदेश राजधानी जोड्ने राजमार्ग स्तरोन्नति कार्यक्रमको १० करोड रुपैयाँ रकमान्तर गरेर निर्वाचन क्षेत्र रणनीतिक सडक कार्यक्रमलाई दिइएको छ ।


    images
    images

    Logo