भक्तपुर । भक्तपुर क्षेत्र नं.२ का प्रतिनिधिसभा सदस्य सांसद दुर्लभ थापाले स्थानीय तहले सर्वसाधारणलाई गुणस्तरीय स्वास्थ्य सेवा दिनुपर्नेमा जोड दिएका छन् । मध्यपुर थिमि नगरपालिकाद्धारा सञ्चालित नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालको १५ औं स्थापना दिवसको अवसरमा बोल्दै थापाले सर्वसाधारणको स्वास्थ्य र शिक्षा पाउँने अधिकारको ख्याल गर्दै गुणस्तरीय सेवा प्रदान गर्नेतर्फ अग्रसर हुन नगरपालिकालाई आग्रह गरे ।
सांसद थापाले स्थानीय तहले सञ्चालन गरेका स्वास्थ्य संस्थामध्ये नेपाल कोरिया मैत्री नगरपालिका अस्पताल उत्कृष्ठ रहेको बताउँदै अस्पतालको बिशेषज्ञ सेवा अझ बिस्तार गर्दै लैजानुपर्नेमा जोड दिए । नगरपालिकाले सञ्चालन गरेको अस्पताल भएपनि कोरिया अस्पतालले गुणस्तरीय र विशिष्ठिकृत सेवा प्रदान गर्दै आइरहेको बताउँदै यहाँबाट उपलव्ध हुने सेवा केन्द्रीय स्तरबाट सञ्चालित अस्पतालको भन्दा कम नभएको थापाको भनाई थियो ।
कार्यक्रमलाई सम्बोधनगर्दै बागमती प्रदेश सभा सदस्य डा। राजेन्द्रमान श्रेष्ठले अस्पतालले बिरामीको उपचारका साथै नगरवासीलाई रोग नै लाग्न नदिन समूदायस्तरमा जनचेतनामूलक र सचेतनामूलक कार्यक्रम सञ्चालन गर्नुपर्ने सुझाए । मध्यपुर थिमि नगरपालिकाका नगरप्रमुख एवं अस्पताल व्यवस्थापन समितिका अध्यक्ष सुरेन्द्र श्रेष्ठले विगतमा अस्पतालले भौतिक पुर्वाधारको विकासमा गति लिएपनि ऐन नियम नहुँदा आन्तरिक व्यवस्थापन चुस्त दुरुस्त हुन नसकेको बताउँदै अस्पताललाई आफ्नो कार्यकालमा बिस्तारै सही लिकमा ल्याउन सफल भएको बताए ।
विगतमा अस्पतालको लेखा परीक्षण नहुँदा नविकरण समेत नभएका कारण प्रदेश र संघीय सरकारले दिने सेवा सुविधाबाट समेत वञ्चित भइरहेको जानकारी दिँदैं प्रमुख श्रेष्ठले हालै लेखा परीक्षण सम्पन्न गरी अस्पतालको दर्ता नविकरण समेत गरिसकेको जानकारी दिए । अस्पतालका कर्मचारी तथा स्वास्थ्यकर्मीको सेवा सुविधासहितको कर्मचारी व्यवस्थापन सम्बन्धी ऐन निर्माण गरी कार्यान्वयनमा ल्याइएको जानकारी दिँदैं नगर प्रमुख श्रेष्ठले अव कर्मचारीको वृत्ति विकासका साथै भविष्य समेत सुनिश्चित भएको जानकारी दिए ।
अस्पतालका कर्मचारीको व्यवहारका बारेमा जनगुनासो आइरहेको बताउँदैं त्यस्ता गुनासो अवदेखी नआउने गरी काम गर्न श्रेष्ठले निर्देशन दिए । अस्पतालको सेवा बिस्तार र गुणस्तरीय सेवा प्रवाहका लागि डिपिआर निर्माणको कार्य भइरहेको र सो प्रतिवेदन तयार भएपछि सोही अनुसार अस्पतालको विकास र बिस्तार गरी आगामी ५ वर्षभित्र नेपालकै नमूना अस्पतालको रुपमा विकास गर्ने लक्ष्य रहेको नगर प्रमुख श्रेष्ठको भनाई थियो ।
मध्यपुर थिमि नगरपालिकाका पूर्व नगरप्रमुख मदनकृष्ण श्रेष्ठले कोरिया सरकारको सहयोगमा क्योङ ही स्वास्थ्य केन्द्रको रुपमा स्थापना भएको स्वास्थ्य संस्थाले अहिले अस्पतालको रुपमा विकास भई दैनिक ६ देखी ७ सयलाई सेवा दिन सक्नु आफैंमा ठूलो उपलब्धी भएको बताए । नेपालमा स्वास्थ्य बिमाको विजारोपण यही नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालले गरेको दावी गर्दै अस्पतालले नगरवासीलाई थप स्वास्थ्य सेवाका लागि अझै धेरै कार्य गर्नुपर्नेमा श्रेष्ठको जोड थियो ।
नगर उपप्रमुख विजयकृष्ण श्रेष्ठले कर्मचारी र स्वास्थ्यकर्मीको व्यवहारले नै बिरामीको आधा रोग निको हुने भएकाले सोहि अनुसार व्यवहार गर्नुपर्नेमा जोड दिए । मध्यपुर थिमि नगरपालिकाका निवर्तमान नगरप्रमुख मदनसुन्दर श्रेष्ठले पहिले गरीव जनताको उपचार गर्ने अस्पताल पछिल्लो समयमा गरिएको सुधारपछि सबैको रोजाईमा पर्न थालेको बताए । कोभिडका समयमा अस्पतालले उत्कृष्ठ सेवा दिएको उल्लेखगर्दै श्रेष्ठले शिक्षा स्वास्थ्यमा कसैले पनि राजनीति गर्न नहुनेमा जोड दिए ।
कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विजयराज सुवेदीले अस्पतालको स्तरबृद्धि तथा सुधारका लागि नगरपालिका सहयोग गर्न तयार रहेको बताउदै सबै खालका बिशेषज्ञ सेवा सञ्चालन गरेर नगरवासीका अलवा अन्यत्रकालाई समेत सेवा दिनुपर्नेमा जोड दिए । अस्पताल सञ्चालन समितिका सदस्य हरिदास प्रजापतिले सेवा बिस्तारसँगै नागरिकको गुनासो नआउने गरी सेवा प्रवाहलाई चुस्त बनाउन व्यवस्थापन समिति प्रयासरत रहेको बताए ।
कार्यक्रममा अस्पतालका प्रमुख डा. डि.के. रोसनले अस्पतालमा पछिल्लो समय डायलासिस सेवा शुरु गरिएको, सिटी स्क्यान मेसिन जडान भई सेवा सूचारु गर्ने चरणमा रहेको, फार्मेसीको टेण्डर गरिएको, प्राइभेट क्लिनिक सञ्चालनको लागि तयारी शुरु गरिएको बताए । डा.रोसनका अनुसार, क्यान्टिनको व्यवस्थाका लागि अध्ययन भइरहेको छ । अस्पतालको आफ्नै नर्सिङ कलेज सञ्चालन र सुविधायुक्त ल्याव सेवा सञ्चालनका साथै यसै वर्षभित्र ब्लड बैंक स्थापनाको लागि आवश्यक तयारी भइरहेको छ ।
अस्पतालको १५ औं स्थापना दिवसको अवसरमा अस्पताल परिसरमा आयोजित खुल्ला रक्तदान कार्यक्रममा ४९ जनाले रक्तदान गरेका थिए । स्थापना दिवसकै अवसरमा अस्पतालमा रहेका बिरामीहरुलाई शिघ्र स्वास्थ्य लाभको कामना गर्दै प्रतिनिधि सभा सदस्य दुर्लभ थापा, नगरप्रमुख, उपप्रमुख लगायतले फलफुल वितरण गरेका थिए ।



